दमक, २३ असार । जिल्लाको कमल गाउँपालिका वडा नं ६ सुकुम्बासी टोल बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरी फरार भएका रुपेश सदालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।
सप्तरी राजबिराज नगरपालिका ११ स्थायी ठेगाना भई कमल -६ कै नाता पर्ने फूसन सदाको घरमा बसी सिटी सफारी चलाउदै आएका ४१ वर्षीय सदाले शनिवार विहान घरमा सुतिरहेकी सुमित्रालाई धारिलो हतियारले टाउको र दुबै हातमा प्रहार गरी घाइते बनाएका थिए । घटनापछि फरार भएका सदालाई सप्तरी जिल्लाको बिषनपुरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
प्रहरीले घटनास्थलबाट एक थान खुकुरी,एक थान छुरी र एक थान रड बरामद गरेको छ । घाइतेको न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।जनमन गरि आएकी सुमित्राको श्रीमान रोजगारीका सिलसिलामा खाडी मुलुकमा छन् । पीडितले आफूमाथि जर्वजस्तीको प्रयास गर्न खोजेको र नमान्दा एकैचोटि हतियार प्रहार गरेको आरोप लगाएकी छन् ।