इलाम,१६ बैशाख । इलाम २ को उपनिर्वाचनको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार इलाम नगरपालिका– ७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना सुरु गरिएको हो।
मतभण्डार कोठामा राखेको क्रमअनुसार फाकफोकथुम गाउँपालिकाको मतपेटिकाबाट गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसपछि चुलाचुली, माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको क्रमशः गणना गरिने जनाइएको छ।
इलाम २ मा करिब ६० प्रतिशत मत खसेको छ। शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार आठ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए। जसमा महिला मतदाता ३४ हजार एक सय ५० र पुरुष मतदाता ३५ हजार एक सय ३५ रहेको उनले बताए।
उनका अनुसार मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ।
इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा हृदयाघातबाट निधन भएपछि यहाँ उपचुनाव गरिएको हो। यहाँको उपनिर्वाचनमा राजनीतिक दलका १२ उम्मेदवार र सात स्वतन्त्रसहित १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए। जसमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादी डकेन्द्रसिंह लिम्बूबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।