वडाले दियो अरुणोदय विद्यालयलाई ई–रिक्सा

शिवसताक्षी,२ चैत । झापाको शिवसताक्षी नगरपालिका–८ वडा कार्यालयले अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ ।विद्यार्थी आवातजावतमा सहजता पुरयाँउन वडाले सो विद्यालयलाई एक थान इ-रिक्सा उपलव्ध गराएको वडाअध्यक्ष सन्तकुमार फेउदिनले बताए ।
विहिबार विद्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच वडाअध्यक्ष फेउदिनसहित वडा सदस्यहरु टिकामाया दर्जी, विवेक थिंङ, ज्ञानु लुइँटेल र वडा सचिव पुष्पलाल पाण्डेले विद्यालयकी प्रधानाध्यापक तारा लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई इरिक्साको साँचो हस्तान्तरण गरेका हुन् ।
सम्झना चोक, डाँडा गाउँ, मुसहर बस्ती, बिहानी चोक, कञ्चन टोल, बुद्ध चोक, पगरी टोल, गुराँस चोक लगायत टाढा टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा आउन र गन्तव्य सम्म पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक लावतीले बताईन् ।
विद्यालयले विद्युतीय अटो रिक्सा सञ्चालनका लागि सोही विद्यालयका एक विपन्न अभिभावकलाई जिम्मा दिने भएको छ । उनले विद्यालयमा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई विद्यालय सम्म ल्याउने र छुट्टी भएपछि घर सम्म पु¥याउने गर्छन् । विद्यार्थी ओसारे बापत उनले कुनै पारिश्रमिक विद्यालयबाट नलिने प्रधानाध्यापक लावतीले बताइन् । ‘बिहान बेलुका विद्यार्थी बोक्नुहुन्छ, दिउसो यात्रु बोक्नु हुन्छ,’ विद्यालयकी प्रधानाध्यापक लावतीले भनिन्, दिउँसो यात्रु बोके बापत उनले विद्यालयलाई दिनहुँ तीन सय भुक्तानी गर्नुहुन्छ ।’
विद्युतीय अटो रिक्सा चालकले दिएको तीन सयले विद्यालयले एक जना निजी शिक्षक नियुक्ति गर्ने विद्यालय प्रशासनले योजना बनाएको छ । नर्सरी देखी कक्षा १ सम्म अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि कक्षा २ सम्म अङग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने भएको छ ।
प्रअ लावतीले विद्यालयको शैक्षिक विकासमा टेवा पुरयाँउन उद्देश्यले हालै मात्र अक्षय कोष पनि स्थापना गरेकी छन् । गएको तिहारमा देउसी खेलेर अक्षय कोषको स्थापना गरिएको र कोषमा दाताहरुले थप आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको उनले बताईन् ।

Leave a Reply

Your email address will not be published.