दमक, २६ फागुन । झापाको दमक- ६ स्थित पशुपति मन्दिरमा निर्माण गरिएको तीनतले सुविधा सम्पन्न पशुपति सेवा सदनको उद्घाटन गरिएको छ । झण्डै ५० प्रतिशत जनसहभागितामा निर्माण गरिएको १५ वर्षपछि बल्ल औपचारिक रुपमा भवन उद्घाटन गरिएको हो ।
शिवरात्रिको अवसर पारेर शुक्रबार नवनिर्मित भवनको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरे । यसको शिलान्यास बि.स. २०६४ साल फागुन २२ गते आचार्य पण्डित पुष्पलाल निरौलाले गरेका थिए । पशुपति सेवा सदनको भवन तीन करोड ५९ लाख २४ हजार १४६ रुपियाँको लागतमा बनेको हो ।
विभिन्न दाताहरूबाट एक करोड ५४ लाख ९६ हजार ६५९ रुपियाँ प्राप्त भएको र बाँकी रकम संसद् विकास कोष, स्थानीय सरकारसहित विभिन्न सरकारी निकायहरूबाट प्राप्त बजेटले काम पूरा भएको दमक नगरपालिकाका प्रमुख समेत रहेका पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले बताए ।
पशुपति सेवा सदनमा एक हजारसम्म मानिसहरू अटने सुविधायुक्त कार्यक्रम हलसहित एक सयभन्दा बढी बसोबास गर्न मिल्ने कोठाहरू निर्माण भएका छन् । सो ठाउँमा लगातार १८ बर्ष सम्म एक÷एक पुराण सम्पन्न भइसकेको छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसारका १८ पुराण सम्पन्न भएसँगै तत्कालिन पशुपति मन्दिर सिद्धकामेश्वर पशुपति धामका रुपमा परिणत भएको थियो ।
पशुपति मन्दिरको स्थापना लामा परिवारले दान दिएको स्थलमा निर्माण भएको हो । यसलाई दमककै ठुलो र भक्तजनहरुको विशेष आकर्षण रहने धार्मिकस्थलका रुपमा लिने गरिन्छ ।