पाठामारीमा विपन्न समुदायको जीवनस्तर उकास्न बगरे खेती

झापा, ४ फागुन । झापा, कचनकवल गाउँपालिकाका अतिविपन्न र सिमान्तकृत समुदायको जीवनस्तर उकास्ने उद्देश्यले नदी उकास जमिनमा खेती सुरु गरिएको छ ।पालिकाको वडा नम्बर ५ स्थित पाठामारीका ११५ घर परिवारलाई समेटेर मेची नदीको बगरमा खरबुजा, काँक्रा खेती सुरु गरिएको हो ।
न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) र पालिकाको सहकार्यमा बगरको १७ विगाह जमिनमा गरीब, विपन्न र सीमान्तकृतको जीविकोपार्जनमा मद्दत पुर्याउने उद्देश्यले काम थालिएको एसएनजेडीका संयोजक कुमार चुडालले बताए।
सो स्थानमा सुपारी खेती गर्ने उद्देश्य अनुरुप काम भइरहेको उनले बताए। यूनएनडीपीले गरीबी निवारणका क्षेत्रमा मुलुकका विभिन्न स्थानमा काम गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत नै यूनएनडीपीसँगको सम्झौता अनुरुप एसएनजेडीले काम गरेको संयोजक चुडालको भनाई छ ।
सोही स्थानलाई घेराबारका लागि पालिकाकाले रु २० लाखको लागतमा ठेक्का लगाइसकेको उनले जानकारी दिए । “प्रयोगविहीन जमिनलाई उपयोग गरेर विपन्नहरुको जीवनस्तर उकास्ने हाम्रो लक्ष्य हो”, उनले भने, “हामी लगानी गरिदिन्छौैं उत्पादन र उपभोग उहाँहरुले नै गर्नुहुन्छ ।” उनका अनुसार पाठामारीमा बसोवास गर्ने अधिकांश सुकुम्वासी र मजदूर रहेका छन् ।

उनले जमिन खनजोत, विउ विजनमा एसएनजेडीले नै सहयोग गरिरहेको बताए । घेराबारा र सिंचाईमा पालिकाको लगानी हुनेछ । बगरलाई हराभरा बनाएर सो क्षेत्रका विपन्नको जीवनस्तर उकास्न सकिने अध्ययनपछि नै काम गरिरहेको उनको भनाई छ । उनले प्रत्येक परिवारलाई दुईदेखि तीन कठ्ठासम्म जमिनमा खेती गर्ने वातावरण मिलाएको बताए।
बगरको जमिनमा हाल काक्रा र खरबुजा लगाए तापनि पालिका र संस्थाले सुपारी खेतीका लागि अध्ययन गरिरहेको छ। उनले थोरै लगानी, कम परिश्रममा बढी उब्जनी गर्न सकिने हुँदा सुपारी खेतीलाई प्राथमिकतामा राखेको बताए ।

उनले कृषि बैज्ञानिक डा. शरणकुमार रिजाल र अखिल नेपाल सुपारी खेती महासंघका अध्यक्ष नीलकण्ठ तिवारीले समेत सो क्षेत्रको निरीक्षण गरेको बताए। उनीहरुले सुपारी खेतीको लागि बगरको माटोको परीक्षण र तापक्रमबारे अध्ययन गर्नका लागि सुझाव दिएका छन् ।

कार्यक्रम संयोजक चुँडालका अनुसार बगरमा खेती लगाएर उत्पादन दिएको २० बर्षसम्म सम्बन्धित व्यक्तिले नै उपभोग गर्न पाउने गरी पालिकाको कार्यविधि बनाइएको छ । एसएनजेडीले रु५० देखि ५२ लाख खर्च गरेर जमिनको संरक्षण, गरीबको उत्थान गर्ने योजना अनुरुप कार्यक्रम सुरु गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published.