पूर्वमन्त्री बुढाथोकीको शव अन्त्येष्टि, हजारौ सहभागी

झापा ,२३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको झापाको कन्काई माइमा अन्त्येष्टि गरिएको छ । ८० बर्षिय बुढाथोकीको बिराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति निधन भएको थियो । लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मृगौलामा समस्या आएका कारण उपचार गराउदैआएका थिए ।
‘सेतो बाघ’ उपनामले चर्चित झापा ,शनिश्चरे निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । त्यसअघि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयबाट निकालिएको शवयात्रामा हजारौको सहभागिता रहेको थियोे । स्व. नेता बुढाथोकीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको थियो ।
पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा,पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व मुख्यमन्त्री उद्धव थापा,जिल्ला सभापति देउकुमार थेबेलगायतले बुढाथोकीको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए । त्यस्र्तै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व महान्यायाधिवक्ता अग्नी खरेल,कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी,सरिता प्रसाई,अमृत अर्याल,पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
‘समुदायमा कांग्रेस’ अभियान स्थगित
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलवार एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिए । पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
कांग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको हो ।
बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त
कांग्रेसले स्व. बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार विहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्व मन्त्री बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
स्व बुढाथोकीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
बुढाथोकीको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उहाँको निधनबाट कांग्रेस मर्माहत र स्तब्ध भएको बताइएको छ । आकस्मिक बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेता बुढाथोकीको निधनमा कांग्रेसले माघ २३, २४ र २५ गते (तीन दिन) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने र पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.