झापामा सङघर्ष समितिको प्रशिक्षण तथा जनजागरण कार्यक्रम

झापा,१५ माघ ।प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको शनिवार झापामा एकदिने प्रशिक्षण तथा जनजागरण कार्यक्रम सम्पन्न भएको छ ।विर्तामोडस्थित आदर्श ब्याङक्वेटमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सङघीय सङघर्ष समितिका प्रतिनिधिहरूले प्रशिक्षण मन्तव्य राख्दै सहभागिहरुले पहिचानको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउन गोलबन्द हुनुपर्ने जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको एक घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष तथा सङघर्ष समितिको सङघीय प्रतिनिधि कुमार लिङदेनले विश्वमा विद्यमान रहेको पहिचान र स–अस्तित्वको व्याख्या गर्देे पहिचानको आन्दोलनमा होमिएका पहिचानवादीहरू विभिन्न विचारधारामा आबद्ध रहेपनि एकबद्ध भई अघि बढ्न जरुरी भईसकेको औल्याए । अहिलेको परिस्थितिमा प्रदेशको नाम कोशी खारेजी र प्रदेश नं. १ को नाम सभ्यता र ऐतिहासिक भूगोलको आधारमा पुनः नामाङकन हुनु पर्ने उनले जोड दिए ।
अर्का बक्ता कार्यक्रमका विशिष्ठ अतिथि सङघर्ष समितिका एक घटक प्रस्तावित नेपाल जनमुक्ति पार्टीका बरिष्ठ तथा पहिचानवादी लिम्बुवानी नेता सञ्जुहाङ पालुङवाले अव पहिचानका लागि शसक्त आन्दोलन नगरि राज्य सत्ताले टेरपुच्छर नलाउने बताए । अहिले उठिरहेको आन्दोलनले सफलता प्राप्ति नहुने बताउदै उनले संविधानमा व्यवस्था गरिएको अधिकार सुनिचश्चितता गर्न, गराउन लिम्बुवान, खम्बुवान, कोचिला, शेर्पालुङ जस्ता स्वायत्त सरकार गठन गरेर दवावमूलक सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
अर्का वक्ता जसपा नेपालका केन्द्रीय सदस्य सरू सिङगक ,नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष धनबहादुर पन्दाकले पहिचानको आन्दोलनमा सम्पूर्ण तह र तप्काका आन्दोलनरत पक्षका कार्यकर्ताहरू सङघर्षको मैदानमा उत्रनको विकल्प नभएको औल्याए ।
कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी, राजवंशी महिला विमास समितिका केन्द्रीय अध्यक्ष सनम राजवंशी, नेफिन झापाका पूर्व अध्यक्ष भरत श्रेष्ठ, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्रकुमार सेर्मा लगायतले मन्तव्य राखेका थिए ।
प्रदेश नं. १ पुनः नामाङकन सङघर्ष समिति झापा संयोजक तथा नेफिन झापा अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सङघर्ष समितिमा आबद्ध राजनैतिक दल, सामाजिक संघ–संस्था र स्थानीय स्तरमा गठित सङघर्ष समितिका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समिति झापा सदस्य सचिव सेसेहाङ फियाक लिम्बूले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.