गौरीगन्जमा आदिवासी जनजातिको मौलिक खाना महोत्सव

गौरीगञ्ज,२८ पुस झापाको गौरीगञ्जमा शनिवार आदिवासी जनजातिको मौलिक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति महासंघ गौरीगन्जको आयोजनामा भएको फुड फेस्टिबलमा पाँच हजार भन्दा बढीको सहभागिता भएको बताइएको छ।
गौरीगन्ज माविको खेलमैदानमा भएको फेस्टिबलमा स्थानीय १२ वटा जातजातिको मौलिक लोक नृत्यसहितको खानाका परिकार राखिएको थियो। गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले कार्यक्रम उद्घाटन गर्दै विकास निर्माण मात्र विकास नभएकाले यहाँ रहेको मौलिक सांस्कृति र खानपानको संरक्षणमा पनि पालिकाले ध्यान दिने बताईन् ।
‘‘आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगाप्रसाद राजवंशीका अनुसार विभिन्न जनजातिहरुले आफ्नो मौलिक खाना, संस्कृति झल्कने नृत्य र आफ्ना परम्परागत बाजागाजा पनि प्रदर्शन गरेका छन्। हराउँदै खाएका खानाका परिकारको संरक्षणका लागि सबैको ध्यान केन्द्रित गर्ने प्रमुख उदेश्य रहेको उनले सुनाए ।

राजवंशी, ताजपुरिया र गनगाई जातिको मौलिक खाद्य परिकार भाक्का, पिठ घुम्नीमुरी, गुन्जुर र सिद्ल, नेवारको यमरी, सन्थालको खिचडी, राई जातिको तरूल, मकै र कोदो , फापरको रोटी, सेलरोटी, लिम्बुको फिलिङ्गेको अचार, मेसुको अचार, तामाङ्गको सखरखण्ड, संथालको खिचडीलगायतका मौलिक परिकार महोत्सवमा आउनेलाई निःशुल्क चखाइएको थियो।

गौरीगन्जमा भएका आदिवासी जनजातिको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाको जगेर्ना र संरक्षण गर्ने कार्यमा महोत्सव सफल भएको गाँउपालिकाका पूर्व अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।

गौरीगन्ज गाउँपालिकामा राजवंशी, ताजपुरिया, गन्गाई, सन्थाल, नेवार, राई, लिम्बु, तामाङ्ग, मगर, भुजेललगायत आदिवासी जनजातिको बसोबार रहेको आदिबासी जनजाति महासंघका उपाध्यक्ष आत्माराम राजवंशीले जानकारी दिए। पहिलो खान महोत्सव सहितको सांस्कृति कार्यक्रममा उल्लासमय उपस्थिति रहेको र यसले अर्को वर्ष पनि यस प्रकारको कार्यक्रम गर्न प्रेरित गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.