कमल,२८ पुस। झापाको कमल गाउँपालिका ४ स्थित केर्खामा शनिवार दिउँसो तीन वटा मोटरसाइकल र स्कुटी ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दुई जना घाइते छन् ।
कमल- ४ स्थित केर्खामा पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१६ प ८९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। सोही समयमा प्रदेश १-०१-०१६ प ७१४० नम्बरको स्कुटीसमेत पुगेर ठक्कर खाँदा प्रदेश १-०१-०१६ प.८९९२ नम्बरको मोटरसाइकलको पछाडि सवार झापा कनकाई नगरपालिका ३ बस्ने ७० वर्षीय रघुनाथ भट्टराईको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
दुर्घटनामा सोही मोटरसाइकल चालक कनकाई नगरपालिका ५ का ५३ वर्षीय चन्द्रप्रसाद भट्टराई सामान्य घाइते भएका छन्। अर्को मे ६ प ३१५२ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ३ निवासी ५५ वर्षीय देवप्रसाद बजगाईंको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा परेका सबै मोटरसाइकल हाल प्रहरी चौकी केर्खामा राखिएको छ।