दमक,२१ पुस । झापाको कमल गाउँपालिका वडा नं ५ गुह्येश्वरी टोलमा जंगली हात्तीले दिनहुँ जसो उपद्रो मच्याउदै आएपछि स्थानीय त्रसित भएका छन् ।बस्ती नजिकैका चुरे तथा जंगल क्षेत्रबाट रातीपिछे आउने जंगली हात्तीले उपद्रो मच्याउदै अन्नवालीबाली खाने,घरमा क्षति पुरयाँउन थालेपछि स्थानीयहरु त्रसित भएका हुन् ।
वडाअध्यक्ष एलवी विष्टका अनुसार दुई दिन अघि मात्र चाँजु टुक्रे बस्तीमा हात्ती आएपछि भाग दौडका क्रममा मुक्तीनाथ कोइराला लडेर सामान्य घाईते भएका छन् भने शनिवार विहान मात्र सोहि बस्तीका प्रकाश सापकोटा लगायतका स्थानीयको चार वटा घरमा क्षति पुरयाँएको छ ।हात्तीले चारवटा घरका धान लगायतका अन्नवाली खानुका साथै घरमा समेत क्षति पुरयाँएको उनले बताए।
हात्तीले दिनहुँ जसो उपद्रो मच्याउदै आएको घटनाबारे सूचना पाए लगत्तै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई घटनास्थलमा पुगेर हात्तीले पुरयाँएको क्षतिको अवलोकन गर्नुका साथै हात्ती प्रभावितहरुसंग हात्तीको प्रभाव न्यूनीकरणका लागि स्थानीयस्तरमा अवलम्बन गर्न सकिने उपायहरुका बारेमा अन्तरकृया गरेका छन् ।
त्यसक्रममा अध्यक्ष राईसंग वडाध्यक्ष विष्टसहित टोलबासीहरुले सो क्षेत्रमा जंगली हात्तीका कारण दिनहुँ जसो किसानले लगाएको अन्नबाली नष्ट हुने गरेको र त्रासपूर्ण जीवन विताउनु परिरहेको भन्दै दिर्घकालिन समाधानका लागि ध्यानाकर्षण गराएका थिए । प्रभावितका बासिन्दाले हात्ती धपाउन प्रयोग गरिने साइरन, टर्च लाइट तथा सडक बत्ती जडान गरिदिन माग गरिएको गुहेश्वरी टोल विकास संस्थाका अध्यक्ष विनोद पाण्डेले बताए ।
सो अवसरमा अध्यक्ष राईले नागरिकको जीउ धनको सुरक्षा स्थानीय सरकारको पहिलो प्राथमिकताको बिषय भएकाले त्यहाँस्थित बिद्युत पोलमा उज्यालो बत्ती जडानका लागि हात्ती प्रभावित क्षेत्रमा प्रयोग हुने गरी त्तत्काल पालिकाबाट रु एक लाख बिनियोजन गरिएको जानकारी दिए । उनका अनुसार विनीयोजित बजेटबाट सो प्रभावित बस्तीमा टोल विकाससंगको समन्वयमा त्यसवाट हात्ती धपाउन प्रयोग गरिने साइरन, टर्च लाइट तथा सडक बत्ती जडान गरिने छ ।
हात्तीको आक्रमणमा परेर गएको वर्ष मात्र सो बस्तीका एक जना व्यक्तिको ज्यान गएको थियो । बस्तीसंगै जोडिएको रतुवा माईवृक्षारोपण आयोजनाबाट निस्किएका जंगली हात्तीले पछिल्ला साता रातैपिछे हात्ती बस्तीमा आएपछि आफूहरु त्रसित हुनुपरेको स्थानीय दिनेश अधिकारीको गुनासो छ ।