विराटनगर,९ पुस । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर – १० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज विहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारगार प्रशासनले उनलाई पुस ७ :३० बजे अस्पतालमा भर्ना गराएको मोरङ कारागारका निमिक्त जेलर कृष्णहरी न्यौपानेले जानकारी दिए । उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । मृतकका आफन्तहरुले भने समयमै जानकारी नदिएको र उपचारमा लापरवाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।
सहनीको आज कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन उनको मृत्यु भएको छ । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।
लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिती गराएर कारागार चलान गरेको थियो ।
आजविहानसम्म मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नावलक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् ।मोरङ कारागारमा केही दिन अगाडी एक जना बन्दीको पनि मृत्यु भएको थियो । मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको भन्दै परिवारले छानविनको माग राखेका थिए ।पछि जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरेर अहिले छानविन गर्दै आएको छ ।