दमक , १ पुस । भारतको सिक्कीममा आयोजित अन्तराष्ट्रिय केःलाङ प्रतियोगिताको उपाधि किरात याक्थुङ चुम्लुङ कमलको केर्खाले जितेको छ ।प्रथम भएको केःलाङ सांस्कृतिक टिमले उपाधि संगै पुरस्कार स्वरुप नगद भारु १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेको छ ।
नियारा प्रोडक्शन सिक्किमद्वारा ८औं चासोक तङनामको अवसरमा यहि डिसेम्बर १३ देखि १६ तारिखसम्म सिक्किमको रानीपुलमा आयोजित प्रतियोगितामा कमल -३ केर्खास्थित केःलाङ सांस्कृतिक टिमले यो वर्षको उपाधि जित्न सफल भएको चुम्लुङ ३ वडाका अध्यक्ष हिमाल लेछर्वोले बताए । प्रतियोगितामा भाग लिन चुम्लुङ झापा जिल्ला सदस्य मनकुमार थलङको अभिभाकत्वमा टोली सिक्मिम पुगेको थियो ।
केःलाङ विजेता टोलीलाई स्वागत गरिने
अन्तराष्ट्रिय केःलाङ प्रतियोगिताका विजयी टिमलाई गृह जिल्लामा भव्य स्वागत गरिने भएको छ । टोली भोलि सोमबार काकडभिट्टा नाकाबाट नेपाल प्रवेश गदै छ । त्यस क्रममा टोलीलाई भव्य रूपमा स्वागत गरिने कार्यक्रम तय गरिएको किरात याक्थुङ चुम्लुङ झापाका जिल्ला अध्यक्ष शेसेहाङ फियाकले बताए ।
आज विहान केर्खामा चुम्लुङका प्रतिनिधिहरु,अभिभावकहरुको समेतको उपस्थितिमा बसेको बैठकले भोलि सोमबार अपरान्ह केर्खा बजारमा भव्य स्वागत गरिने निर्णय गरिएको चुम्लुङ झापाका सल्लाहकार सूर्यप्रसाद यक्पान्देनले बताए ।