झापा, २६ मंसिर । नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा -८ स्थित घरबाटै आज राति प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आज दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो ।
कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए । आफ्नो घरको गेट र ढोका फुटाएर आफूलाई पक्राउ गरेको चौधरीले बताए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगिएको छ ।
लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।
मुख्यमन्त्रीलाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडी मोडिनेबित्तिकै सगरमाथा पेट्रोल पम्पअगाडि कालोझन्डा बोकेर बसेका आन्दोलनरत समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको छ ।यसैवीच पहिचानवादी नेता चौधरीलाई घरैवाट प्रहरीले गरेको गिरफतार प्रति जनता समाजवादी पार्टी झापाले आपत्ति जनाउदै उनलाई विनासर्त रिहा गर्न माग गरेको छ । पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले सामाजिक सञ्जालमा आफनो विचार राख्दै नेफिन झापाका अध्यक्ष समेत रहेका चौधरीलाई विनासर्त रिहा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।