दमक,१६ मंसिर । दमकमा आजदेखि पातञ्जल योग समिति नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन शुरु भएको छ । भोलि आइतवारसम्म चल्ने महाधिबेशनले ५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । स्थानीय पशुपति मन्दिरमा आयोजित महाधिबेशनको आज जगत गुरु बालसन्त श्री १००८ मोहनशरण देवाचार्यले उद्घाटन गरे ।
पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अतिथि कोशी प्रदेशका विना विभागीय मन्त्री गणेश उप्रेती , प्रदेश सांसद होमबहादुर थापा लगायतले महाधिबेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
स्वस्थ्य जीवनको चाहना,योग शिक्षा र साधना भन्ने मुख्य नाराका साथ स्थापना गरिएको योग समितिको केन्द्रीय महाधिबेशनमा देशभरिबाट १५० जना बढी प्रतिनिधि,पर्यवेक्षकहरुको सहभागिता रहेको महासचिव नवराज काफ्लेले जानकारी दिए ।
महाधिबेशनको आजनै साँझ आयोजना हुने बन्दसत्रमा संस्थाको सांगठानिक ,आर्थिक प्रतिवेदनमाथि वृहत छलफल गरिने र आइतवार भने नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम शुरु गरिने अध्यक्ष सुवालले बताए । महाधिबेशनको बन्दसत्रले योगको सन्दर्भमा दमक घोषणापत्र समेत सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।महाधिबेशनको सन्दर्भमा आयोजक संस्थाले दमकमा आज विहान प्रभातफेरि निकालिएको थियो ।