दमक,७ मंसिर । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमकमा विहिबार इकाईगत साधारणसभा सम्पन्न गरेको छ । दमक, कमल सहितका सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरुको उपस्थितिमा संस्थाले दमकमा २३ औं इकाइगत साधारणसभा सम्पन्न गरेको हो ।
स्थानीय मारवाडी सभा हलमा आयोजित सभामा संस्थामा कारोवार गर्ने एक दर्जन बढी उत्कृष्ठ सदस्यहरुलाई पुरस्कृत गर्नुका साथै सञ्चालक समितिबाट प्रस्तुत बार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिबाट प्रस्तुत गरिएको लेखा प्रतिवेदन समेत सुझावसहित पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटटराईको प्रमुख आतिथ्यतामा भएको सभामा कोषाध्यक्ष एकराज विष्टले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष प्रधानले संस्थाद्धारा तयार पारिएको गतिविधिमूलक बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाले झापासहित पूर्वका मोरङ र इलाम जिल्ला सम्म कार्य क्षेत्र विस्तार गरेको छ । जसमध्ये झापामा ३२ वटा ,इलाममा २ र मोरङमा ७ वटा स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् । संस्थाले तीन जिल्लाका ४६ वटा सेवा केन्द्रको स्वीकृति पाएपनि हाल ४१ वटा सेवा केन्द्र सञ्चालनमा रहेको सहकारीका सचिव भूपाल बस्नेतले बताए । संस्थामा ५० हजार ७ सय १६ जना सदस्य आवद्ध छन् । संस्थाको शेयर पूंजी ४८ करोड ८० लाख २१ हजार ७ सय पुगेको छ ।
७ वटा इकाई निर्धारण गरि संस्थाले आगामी पुष ४ गते सम्पन्न गरिने जनाईएको छ । संस्थाको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको चुनावी साधारणसभा भएका र त्यस अनुसार यहि मंसिर १७ देखि २१ गतेसम्म निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको उल्लेख छ ।