श्रीमतीको हत्या पछि श्रीमानले पनि गरे आत्महत्या

भद्रपुर, ७ मंसिर । श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले आफ्नै श्रीमती ३५ वर्षीया जुनिता लिम्बुलाई कुटपिट गरी हत्या गरेका छन् ।

श्रीमतीको हत्यापछि सुभाषले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटना आज बिहानको हो । श्रीमतीको फोटो र सुसाइड नोट सुभाष झुन्डिएकै ठाउँमा फेला परेको छ ।

स्थानीयले आज बिहान सुभाष रुखमा झुन्डिएको देखेपछि तत्काल सीमा प्रहरी चौकी पृथ्वीनगरलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुग्दा सुभाषसँगै उनको श्रीमती जुनिता घरभित्र मृत अवस्थामा फेला परेको डीएसपी रिजालले बताए ।घटनाको प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार श्रीमान्श्री-मतीबीच गएराति घरायसी झगडासँगै कुटपिट समेत भएको थियो । सुभाषको दाजुले गएराति १२ बजेसम्म उनीहरूको झगडा मिलाएर घर फर्किएका थिए ।

त्यसपछि पुनः उनीहरुबीच झगडा भएको रहेछ, डीएसपी रिजालले भने, ‘झगडाकै निहुँमा श्रीमानले आवेश आएर श्रीमतीको हत्या गरेको देखिन्छ ।’ श्रीमानको कुटपिटबाटै श्रीमतीको मृत्यु भएको उनको भनाई छ । उनीहरूको तीन जना छोराछोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीसहितको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेको जनाइएको छ ।

श्रीमती र छोराको हत्यापछि आत्महत्या

धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति निगालेका ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
टीकारामले श्रीमती र छोराको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । टीकारामको जिउ काम्ने उपचार गरिरहनुपर्ने भएको र उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले बताएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। बुधवार राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए । राति डरले केही नभनेको पनि आसिकीले बताएको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published.