दमक, ६ मंसीर । झापाको कमल गाउँपालिका ७ विष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको मंगलवारदेखि स्वर्णमहोत्सव शुरु भएको छ ।विद्यालयले विभिन्न कार्यक्रम गरि मंसिर ७ गतेसम्म स्वर्णमहोत्सव मनाउन शुरु गरिएको आयोजक समितिका संयोजक समेत रहेका विद्यालयका अध्यक्ष ओमनाथ तिम्सिनाले बताए । स्वर्णमहोत्सवको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरे ।उद्घाटनमा दाता गुरुङ परिवारबाट निर्माण गरिएको स्वर्णमहोत्सव स्तंभको अनावरण गर्नुका साथै स्मारिकाको समेत लोकापर्ण गरिएको छ ।
स्वर्णमहोत्सव कार्यक्रम अन्तर्गत आज बुधबार भने खेलकुद प्रतियोगिता गरिएको विद्यालयकी प्रधानाध्यापक इन्दिरादेवी खनालले बताईन् । वडाअध्यक्ष पृथीपति राईको प्रमुख आतिथ्यतामा भएको दोश्रो दिनको सो कार्यक्रममा विद्यालयका अभिभावकहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत भोलि विहिबार भने विद्यालयका पूर्व अध्यक्ष , पूर्व शिक्षकहरुलाई सम्मान लगायतका कार्यक्रम गरि ७ गते भने औपचारिक रुपमा समापन गरिने उनले बताईन् । .
अंग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा ३ सयका हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा ४ जना स्थायी शिक्षक, पालिकाबाट २ शिक्षक र थप ९ जना निजी स्रोतबाट शिक्षकहरु सेवारत छन् ।