प्रजातान्त्रिक आन्दोलनका योद्धा शर्मा अस्पताल भर्ना

झापा,२० कार्तिक । झापा, कमल गाउँपालिका ५ मंगलवारे निवासी प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्मा दाहाल ( पिएन )अस्पताल भर्ना भएका छन् । उनी बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पताल भर्ना भएका हुन् ।
८६ बर्षिय शर्माको स्वास्थ्यमा समस्या देखिएपछि आइतवार दिउँसो १ बजे अस्पताल भर्ना गरिएको थियो । मुटु र रगतमा समेत समस्या देखिएका उनको आइसीयूमै राखेर उपचार भईरहेको प्रशासन प्रमुख बिनोद बस्नेतले जानकारी दिए । शर्माको उपचारमा डा. अनिल बस्नेत, डा. शरद भट्टराई, डा. शम्भु नवल, डा. चन्द्र लिम्बू, डा. दिग्गज श्रेष्ठ, डा. पुष्पक रेग्मी र डा. पृथ्वी राईको संयुक्त टोलीले हेरिरहेको अस्पतालले जनाएको छ ।
वीपी कोइरालाका अनुयायीका रुपमा रहेका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म परेका थिए । २०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत उनी जेल परेका थिए ।
२०४२ सालमा नै नेपाली कांग्रेस झापाको सभापति बनेका शर्मा कांग्रेसका त्यागी र निष्ठावान नेताका रुपमा चिनिन्छन् । अस्पतालले नेता शर्माको निःशुल्क उपचार गर्ने व्यवस्था गरिदिएको छ । अस्पतालले शर्माको निःशुल्क उपचार गर्ने पूर्वघोषणा अनुसार उपचार भईरहेको अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए ।यसअघि पनि शर्माको पित्तथैलीमा समस्या देखिएपछि बिर्तासिटीमा निःशुल्क उपचार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.