दमक, २ कार्तिक । लामो दुरीको यातायात चलाउने सवारी चालक,सहचालक र यात्रुहरुको आरामका लागि दमक ४ को तारावारी ढाटमा निर्माण भएको विश्राम स्थलमा सञ्चालनमा आएको छ ।
चाड पर्वमा हुन सक्ने सवारी दुर्घटनालाई कम गर्न र चालक,सहचालक,यात्रुहरुले थकाइ मार्न सहज होस भनेर विश्राम स्थल सञ्चालनमा ल्याएको हो । दमक नगर पालिका,इलाका प्रहरी कार्यालय समुदाय प्रहरी साझेदारी र ट्राफिक प्रहरी कार्यालय दमकले मिलेर आजवाट विश्राम स्थल सञ्चालनमा ल्याएको छ ।
काठमाण्डौं,पोखरा, विरगञ्ज लगायतका शहरमा सम्म पुग्ने लामो दुरीको सवारी साधानका चालक,सहचालक आधा दर्जनको विश्राम स्थलमा केही समय आराम गराएर सवारी साधान गन्तब्यमा पठाउने गरेको दमक २ का वडाअध्यक्ष यातायात तथा ट्राफिक ब्यवस्थापन समिति संयोजक प्रजापति सापकोटाले बताए । चालक विश्राम स्थलमा लामो दुरीमा चल्ने सवारी यातायातका चालक ,सहचालकलाई केही समय आराम गराएर चिकित्सकहरुलाट स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य परामर्श दिने अभियानलाई दशै,तिहार र छठ पर्व सम्म गरिने वडाअध्यक्ष सापकोटाले बताए। दमक नगर पालिका नगर प्रमुख रामकुमार थापाले दमक अस्पतालको चिकित्सकको टोलीले लामो दुरीमा चल्ने सवारीका चालकको स्वास्थ्य परिक्षण गर्न शुरु गरेको बताए ।
नगर उपप्रमुख रेगिना भटराई प्रसाईले दुर्घटना न्यूनीकरण गर्न समाजलाई मर्यादित बनाउन नागरिक र सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताईन्। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्वर विश्वकर्माले सवारी दुर्घटनाका कारण भनेको चालकको लापरवाही तीव्र गतिमा गाडी चलाउनु र मापसे लगायतका समस्या रहेको औल्याए ।
यातायात तथा ट्राफिक ब्यवस्थापन समिति सदस्य मन्दरा पौडेल लगायतले सवारी दुर्घटना न्यूनीकरणका विषयमा बोलेका थिए । दमक अस्पतालका डाक्टर रोशन कुमार शाह नेतृत्वको टोलीले लामो दुरीका चल्ने चालकहरुको स्वास्थ्य परीक्षण शुरु गरेको नगर पालिकाद्धारा गठित यातायात तथा ट्राफिक ब्यवस्थापन समितिले जनाएको छ ।