कार्यसम्पादनमा ‘उत्कृष्ट’ बन्यो जिल्ला प्रशासन झापा

झापा,१८ असोज । कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’ भएको छ । गृह मन्त्रालयको मूल्याङकनमा झापाले ८७.३१ अंक प्राप्त गरेको हो ।उता, कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९–८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्टको सूचीमा परेका हुन् ।
३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् ।कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अंकसहित अन्तिम स्थानमा छ ।

हाफ पाइन्ट र स्कर्ट लगाउने सेवाग्राहीलाई रोक
असभ्य र अस्वाभाविक देखिने भड्किलो पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय झापामा आउने सेवाग्राहीलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ ।प्रशासन कार्यालयले असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र सभ्य देखिने पोशाक लगाएर आउन आग्रह गरेको छ । प्रशासन शाखाबाट जारी सूचनामा पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनी स्कर्टजस्ता भड्किला, असभ्य र अस्वाभाविक देखिने पोशाक लगाएर आएको खण्डमा कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख छ ।
दैनिकजसो हाफ पाइन्टमा र मिनी स्कर्टमा आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले सम्झाइ बुझाइ बाहिर पठाउने गरेका छन् ।
कतिपयले सूचनाका बारेमा थाहा नभएको भन्दै बुझ्ने गरेको तर केहीले सेवाग्राहीलाई दुःख दिएको भन्दै रिसाउने गरेको कर्मचारीहरु बताउँछन् ।प्रशासन कार्यालय परिसरमा बुधबार भेटिएका केही सेवाग्राहीले भने प्रशासनको यस कदमको प्रशंसा गरेका थिए । उनीहरूले यो नियम सधैँका लागि हुनुपर्ने भन्दै अटेर गर्नेमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
यसअघि झापा जिल्ला अदालतले हाफ पाइन्ट र स्कर्ट लगाउने सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो ।

Leave a Reply

Your email address will not be published.