सडक दुर्घटनामा परेर एकको मृत्यु

माइधार ,१८ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका वडा न. १० स्थित माइधार सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार मृत्यु हुनेमा स्कुटर चालक झापा गाउँपालिका ३ बस्ने २० वर्षिय भवेश श्रेष्ठ रहेका छन् ।त्यस्तै स्कुटरमा पछाडि सवार झापा गाउँपालिका २ बस्ने २६ वर्षिय शिवकुमार थापा र वडा नं ७ बस्ने सुशान्त शिवाकोटी गम्भीर घाइते भएका र दुवैजनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
आज विहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिमतर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ नं को बोलेरो पिकअप एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जना घाइते भएका र घाईते मध्ये श्रेष्ठको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न बोलेरो , बोलेरो चालक र स्कुटरलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.