दमक,१५ असोज । दमकका मुख्य बजार क्षेत्रमा ढल बनाउदा भत्काईएको सडक बर्ष दिन बित्दा समेत पुनः मर्मत नगरेका कारण ब्यवसायी र उपभोक्ता मारमा परेको बताउदै नेपाल उद्योग तथा ब्यबसायी महासंघ दमक नगर कमिटीले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले सडक मर्मत सम्भारको काम तत्कालै नभए नगरपालिकालाई ब्यवसायीले चाबी बुझाउने अवस्था आउने भन्दै नगर प्रमुख रामकुमार थापाको ध्यानकर्षण गराएका हुन् ।
चाडपर्वको समयमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियण्त्रणका लागि पुराना बिग्रेका सिसि क्यामेरा मर्मत र थप नयाँ जडान गर्न, दमकको नमुना बजारको ब्यवस्थापनमा चासो दिएर तत्कालै काम गर्न समेत ध्यानर्षण गराएको हो ।
सोमबार महासंघका प्रदेश कमिटी सदस्य बिमल खतिवडा, नगर अध्यक्ष रमेश लुइटेल सहितको टोलीले सडक मर्मत सम्भार नभए पीडित ब्यापारीले पसलको चाबी नगरपालिकालाई बुझाउनु पर्ने अवस्था आउने चेतावनी दिएको छ ।
पशुहाटदेखि फाल्गुनन्दचोक र फाल्गुनन्द चोकदेखि हिमावि स्कूलसम्मको सडक भत्काएर तत्कालै बनाउने भनिएको पनि लामो समयसम्म नबन्दा ब्यवसायीहरु यसबाट धेरै नै पीडित बनेको महासंघका प्रदेश सदस्य बिमल खतिवडाले बताए । उनले यसका लागि नगरपालिकाले पहल गरेर ब्यवसायीहरुको पीरमार्का बुझ्न आग्रह गरे ।
महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइटेलले नमुना बजारको ब्यवस्थापनका लागि यसभन्दा अघि पनि वडा नं. ६ को ध्यानकर्षण गराएको बताउदै यसको ब्यवस्थापनका लागि आग्रह गरेकाछन् ।
सो अवसरमा महासंघले बुझाएको ध्यानकर्षण बुझदै प्रमुख थापाले सडक मर्मत सम्भार र निर्माणको काम तत्कालै शुरु गराउने र यसका लागि आफुले बारम्बार पहल गरेको जनाए । यो बिषय अहिले बजार निस्कनसाथ सबैले भन्ने गरेको स्मरण गर्दै उनले आजैबाट यसको काम शुरुवात गरिने पनि बताए ।