छोराबुहारी र छोरी ज्वाइँहरुलाई सामूहिक सम्मान

दमक,१४ असोज । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर दमकमा आइतवार ज्येष्ठ नागरिकहरुको उचित स्याहार संरक्षण गर्ने छोराबुहारी र छोरी ज्वाइँहरुलाई सामूहिक सम्मान गरिएको छ ।
दमक नगरपालिकाको ज्येष्ठ नागरिक तथा महिला बालबालिका शाखाले नगरका १० वटै वडाबाट सिफारिस भई आएका ति व्यक्तिहरुलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अधिवेशन उदघाटन कार्यक्रमकी प्रमुख अतिथि नगरपालिकाकी कार्यबहाक प्रमुख रेगिना भटटराई प्रसाइँ र प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडा लगायतले दोसल्ला र सम्मान पत्रबाट उनीहरुलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा दमक १ का खगेन्द्र काफ्ले र सावित्रा काफले, दमक २ का इन्दिरा दाहाल र लक्ष्मी दाहाल , वडा नं ३ की अम्बिका गौतम , वडा नं ४ की गौरीकुमारी भेटवाल, वडा नं ५ की गीता अधिकारी, ६ की रुक्मणी पोखरेल, ७ की पदमा कार्की सिंह, ८ कन सूर्यप्रसाद दाहाल, ९ का रुपादेवी भगत र वडा नं १० की सुमित्रा भण्डारी रहेका छन् ।
सो अवसरमा प्रतिष्ठानको २० औं बार्षिक साधारण सभाको उदघाटन गर्दै कार्यबहाक नगर प्रमुख रेगिना भटटराई प्रसाइँले ज्येष्ठ नागरिकहरु समाजका सम्पत्ती भएको भन्दै समाजले उचित सम्मान गर्नुपर्ने बताइन् । उनले ज्येष्ठहरुको सेवा सुविधालाई मध्यनजर गर्दै स्थानीय सरकारले उनीहरुको स्वास्थ्योपचार र अन्य सेवा सुबिधाका कार्यक्रमहरु ल्याएको उल्लेख गरिन् ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, वडा नं २ की वडा सदस्य चन्द्रकला विश्वकर्मा, वडा नं ५ का वडा सदस्यहरु गोपाल संग्रौला, शोभा बेलबाँसे लगायत ज्येष्ठ नागरिक तथा सामाजिक अगुवाहरुको विशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष खतिवडा र लेखा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद काफ्लेले अलग अलग प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.