दमक,२० भदौ। झापा ,दमक -१ का डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ ।उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।
उनी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो ।डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।
मृतकका बुवा दिवाकर कोइरालासहित दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गर्दा कोइरालाकै भएको ठहर भएपछि शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । पोस्टमार्टम पछि आजै उनको शव घर लगिने वडाध्यक्ष न्यौपानेले बताए।
प्रहरी स्रोतका अनुसार अन्तिम समयमा डा.कोइरालाले एक जना प्रेमिका सँग संवाद गरेका थिए । त्यही विषयलाई लिएर उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
पानीमा डुबेर एक जनाको मृत्यु
ओखलढुंगाको मोलुङ गाउँपालिका–२ मा पर्ने मोलुङ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका २ रामपुर बस्ने रत्नकुमारी विश्वकर्माको मंगलबार लामपाते भन्ने स्थान नजिकैको खोलामा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक विकास राईले बताए ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको राईले जानकारी दिए ।