कर्मचारीको विरोधमा मेनपाका वडाध्यक्षहरू आन्दोलित

दमक, १९ भदौ  । कर्मचारी विरुद्ध झापा, मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिएका छन् ।वरीयताको विषयमा कर्मचारीहरूबीच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रेको पाइएको हो ।
मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले सोमबार अपराह्न नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध जनाएका हुन् ।
वडा नं. ४ का वडाअध्यक्ष कार्कीले जनताको काम रोकेकाले आफूहरू विरोधमा उत्रनुपरेको सुनाए । हामीले दुई दिनभित्र कर्मचारीहरूलाई सच्चिन मौका दिएको र आफूहरूले उठाएको विषयहरूमा जवाफ मागेको जनाउँदै त्यो नभए थप सशक्त आन्दोलन गर्ने उनको भनाइ थियो ।
निर्वाचित जनप्रतिनिधिलाई नै असफल बनाउने गरी कर्मचारी लागेको उनको भनाइ छ । चार महिना अघि नै प्रक्रिया पुगेर आएका कतिपय योजनाको भुक्तानी विना कारण नदिने र रोक्नुको कारणसमेत नभन्नु सरासर नाजायज हो, कार्कीले भने । यसबाट वडावासीहरू धेरै नै पीडित भएको उनको भनाई छ । ब्याक्तिको नभएर विधिको शासनको माग गरेका छौ, उनले बताए ।
वडा नं १० का वडाध्यक्ष खनालले कर्मचारीका कारण नगरवासी र आफूहरूले धेरै दुख पाएको बताए । कर्मचारीको व्यवहार र अटेरीपनले नगरपालिका नै पस्न मन लाग्न छाडेको उनको भनाई छ ।
आफूहरू निर्णय गर्ने ठाउँमा रहेको र कर्मचारीलाई सुधार्न धेरै पटक निर्णय भए पनि सुधार नआएपछि आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको वडा नं १३ का वडाध्यक्ष कृष्ण सिग्देलले जनाए ।
औषधि खरिद गर्दा ढिलाइ गरेको, कृषक समूहका लागि सम्झौता गरेर कार्यसम्पादन गरिसकेको योजनाको भुक्तानी रोकेको, विपत्र व्यवस्थापनका लागि आवश्यक तार जाली खरिद नगरेको, कर्मचारीको बखेडा झिकेर नगरको विकास निर्माणको काम रोकेर जनप्रतिनिधिलाई सास्ती दिएको जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published.