दमक, ११ भदौ । झापा, भद्रपुर नगरपालिका वडा नं ९ प्रकाशपुरका सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला सोमबार अपराह्न मृत अवस्थामा फेला परेकी छन् ।घरदेखि करिब ५ सय मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबासंगै गएकी बालिका एकाएक बेपत्ता भएपछि अपहरण भएको भन्दै स्थानीय र प्रहरी खोजी कार्यमा जुटेका थिए ।
दिउँसो साढे १२ बजे एकाएक हराएकी बालिकाको शव अपराह्न ४ बजेतिर भेटिएको हो । साढे ३ घण्टापछि मन्दिर अगाडीको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।
सुरुवातमा अपहरणको आंशका भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले विशेष टोली परिचालन गरेको थियो । अपहरण वा अन्य घटना नभएर पानीले बगाएर बालिकाको मृत्यु भएको पाइएको र घछनाबारे थप आवश्यक छानबिन भइरहेको पनि उनले जानकारी दिए ।