तर्साउन खोज्दैमा म तर्सिर्ने मान्छे होइन : अध्यक्ष ओली

दमक, ९ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वको विरोध गर्न आफू नछाड्ने बताएका छन्। उनले झापाको गिरी बन्धु टि–स्टेटको विषयमा आफूलाई मुछ्दैमा केही फरक नपर्ने बताउदै गल्ती नगरेको र नबिराएको स्पष्ट पारे ।
कानुन बनाएर र नियम संगत तवरले गरेको कामको विरोध गर्नुको औचित्य नहुने उनको भनाइ थियो। ‘‘तर्साउन खोज्दैमा म तर्सिर्ने मान्छे होइन। भ्रष्टको विषयमा बोल्न पनि छाड्दिन’’, ओलीले भने । हिजो पञ्चायत तानशाहसँग बोल्न नडराएको भन्दै अहिले पनि नडराउने उनको भनाई थियो ।
.शनिबार झापाको दमकमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकार ठिक ढंगले नचलेको आरोप लगाए । आफूविरुद्ध बोल्नेलाई ठेगान लगाउने उदेश्यले सरकार चलेको बताउदै उनले आफू कसैसँग घुडा टेक्ने र बिन्ती भाउ गर्दै बचाइदेऊ भन्ने अवस्थामा नरहेको उल्लेख गरे ।
सुन तस्करीको प्रंसग उठाउनुहुँदै अध्यक्ष ओलीले यो विषयलाई जनताले पनि मज्जाले बुझेको बताए । ओलीले मुलुकमा सुशासन, आर्थिक विकासका लागि एमाले सधै प्रयत्नशील रहेको र रहिरहने जनाए। सरकार निर्माण गर्नेतर्फ एमालेले ध्यान नदिएको भन्दै राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासतर्फ केन्द्रित रहेको उनको भनाइ रहेको थियो।

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली दमकमा कार्यक्रममा सहभागी हुने थाहा पाएपछि आफूलाई पहिचानवादी बताउने समूहले ओली आउने बाटो छेकेर कालो झण्डा देखाउने प्रयास गरेपछि दमकमा ब्यापक सुरक्षाकर्मी परिचालन भएको थियो।

कार्यक्रमस्थल नजिकै एकातिर युवा संघका कार्यकर्ता र अर्कातिर विरोधी समूह बसेपछि सम्भावित झडपलाई रोक्नलाई प्रशासनले कडा सुरक्षा बनाएको थियो।

प्रहरीले सम्भावित झडप र विरोधलाई उग्रहुन नदिनका लागि छक्याएर अर्कैै बाटोबाट ओलीलाई कार्यक्रमस्थल पुर्याएको थियो। प्रदर्शनमा उत्रेका प्रर्दशनकारीले ओली कार्यक्रमस्थल पुगेपछि मात्र थाहा पाएका थिए। ओली निर्धारित समयमा भन्दा दुई घण्टा ढिला कार्यक्रममा पुगेका थ्एि ।

Leave a Reply

Your email address will not be published.