दमक,९ भदौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ आफनो जीवनको अन्तिम ध्येय र लक्ष्यनै मुलुकमा सुशासन कायम गर्नु रहेको बताएका छन् ।दमक नगरपालिकाले आज आयोजना गरेको साक्षत्कारमा मन्त्री गुरुङले सुशासन बिना लोकतन्त्रको प्रत्याभुति गर्न नसकिने पनि उल्लेख गरे ।
संविधानले परिकल्पना गरेका तीनै तहका सरकार मध्ये स्थानीय तहनै नागरिकहरुको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकहरुका अधिकतम समस्याहरुको हल स्थानीय सरकारलेनै गर्नुपर्ने व्यवहारिकताबारे आफू जानकार रहेको पनि उनले बताए ।
उनले स्थानीय तहमा संविधानले निर्दिष्ट गरेका कानुनी अधिकारहरुका बिषयमा सञ्चालन हुने प्रशिक्षणहरुमा एकरुपता ल्याउन प्रशिक्षण सामग्री तयार भएकाले आउँदा दिनहरुमा जुन निकाय, एनजीओ, आइएनजीओहरुले दिने प्रशिक्षणमा एकरुपता ल्याउने लक्ष्य रहेको बताए ।
सो अवसरमा दमक नगर प्रमुख रामकुमार थापाले जनप्रतिनिधि तथा स्थानीय सरकारका प्रमुख ,उपप्र, कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरुका समेत अधिकारहरुको स्पष्ट किटान भई त्यसको कार्यान्वयनमा सहजता ल्याउन सरकारको महत्वपूर्ण भुमिका हुनुपर्ने जोड दिए ।
दमक नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक रेगिना भटट्राई प्रसाइँले संघीय कानुनहरुको अभावमा स्थानीय तहले कानुनहरु निर्माण गर्न भइरहेको असहजता, न्यायिक समितिले विवाद निरुपण तथा मेलमिलापमा निर्वाह गरिरहेको भुमिका आदिका बिषयमा जानकारी गराउँदै जनशक्ति व्यवस्थापन र अन्य समस्याहरुको समाधानमा मन्त्री गुरुङको ध्यानाकर्षण गराएकी थिइन् ।
सो अवसरमा नगरपालिकाको कानुन शाखाका सहायक नविन खतिवडाले कानुन शाखा अन्तर्गत न्यायिक समिति र विधायन समितिले गरिआएका काम कार्यवाही, आर्थिक बर्ष २०७९÷ ०८० को शाखाको प्रगति लगायतका बिषयमा कार्यप्रगति प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमाथि कानुन मन्त्रालयका अधिकृत नविन गडतौलाले सुझावसहित टिप्पणी राख्दै न्यायिक समितिमा छुटटै इजलाश कक्षको परिकल्पना नगरिएको उल्लेख गरे । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले गरे ।