कमलमा कांग्रेसको गाउँ सम्मेलन सम्पन्न

कमल,३२ साउन । नेपाली कांग्रेसले सञ्चालन गरेको आन्तरिक विशेष अभियान अन्तर्गत झापाको कमलमा गाउँ सम्मेलन सम्पन्न भएको छ ।कमल ५ स्थित रोडस्टार पार्टी प्यालेसमा आज आयोजित गाउँ सम्मेलनको कांग्रेस झापाका पूर्व सभापति एवं बयोबृद्ध नेता पूर्णानन्द शर्माले उदघाटन गरेका छन् ।

पार्टीका कार्यवहाक गाउँ सभापति पदम निरौलाको सभापतित्वमा भएको गाउँ सम्मेलनको उदघाटन कार्यक्रममा कांग्रेसका कोशी प्रदेश समिति सदस्य चन्द्रा खडका भटट्राई, झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा क्षेत्र (ख)का सभापति रवि केसी, गौरादह नगर सभापति गोपाल कोइराला लगायतले शुभकामना मन्तव्य राखेका छन् ।
सम्मेलनमा पार्टीका कार्यबहाक सभापति निरौलाले पार्टी संगठनको प्रतिवेदनसँगै आय व्ययको बारेमा संक्षिप्त जानकारी गराएका छन् । उनले १४ औं अधिवेशनपछि निर्वाचित समितिलाई तत्कालिन गाउँ समितिले पदहस्तान्तरण लगायतका प्रकृया पूरा नगरेको तर आर्थिक दायित्व भने नयाँ समितिमा आइपरेको बताए ।
उनले लगभग ३ लाख १७ हजार रुपैयाँ साविकको पार्टी गाउँ समितिको दायित्व अहिलेको समितिमाथि साहुहरुले दाबी पेश गरिरहेको उल्लेख गरे ।सहभागिहरुलाई प्रतिवेदन उपलब्ध नगराई गरिएको सम्मेलनमा गाउँपालिकामा रहेका ७ वडा मध्ये कतिपय वडा सभापतिहरुनै उपस्थित थिएनन् ।

सम्मेलन औपचारिक मन्तव्यमा केन्द्रित भएको छ । पार्टीले उपल्लो तहमा मनोनित गरेका नेताहरुको सूची गाउँपालिका समितिलाई प्राप्त हुन नसकेको कार्यवहाक सभापति निरौलाले बताए ।सम्मेलनमा पार्टी गाउँ उपसभापति केदार कटुवालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।
दमकमा ९ गते हुने
त्यसैगरी कांग्रेस दमक नगर समितिको सम्मेलन यही भदौ ९ गते गर्ने तयारी भएको छ । कांग्रेस नगर सभापति प्रकाश प्रसाइँका अनुसार सम्मेलनको पूर्व तयारीका लागि बसेको बैठकले ९ भदौमा नगर सम्मेलन गर्ने तय भएको हो । कांग्रेसले हरेक वडाबाट उल्लेखीय सहभागितामा नगर सम्मेलन गर्ने तयारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.