दमक,२६ साउन । झापाको दमक ५ स्थित एकता टोलमा स्थानीय एक दाता परिवारले रु साढे ५ लाख बढीको निजी खर्चमा पक्की स्वागतद्धार निर्माण गरिदिएका छन् ।स्थानीय उमेशकुमार खत्री तथा गोमा निरौला खत्रीकी छोरी उषा दाहाल र ज्वाइँ जेकी जटकी सुपुत्री मेहेरिन जटको जन्मदिनको अवसर पारेर सो परिवारले पक्की स्वागतद्धार निर्माण गरिदिएका हुन् । दाता दम्पत्ती हाल हङकङ्गमा बस्दैआएका छन् ।
माईत आएका बखत उषाले छोरीको जन्मदिनमा त्यस टोल मार्गको प्रवेशद्धार बनाईदिने प्रतिवद्धता जनाएअनुसार परिवारकै अगुवाईमा प्रवेशद्धार तयार गरिदिएकी हुन् ।नवनिर्मित स्वागतद्धारको आज दमक नगर प्रमुख रामकुमार थापाले उदघाटन गर्नुका सँगै त्यहाँ लेखिएको शिलालेखको समेत अनावरण गरे । साथै उनले प्रवेशद्धारको स्वामित्व टोल विकास संस्थालाई प्रदान गरे ।
सो स्वागतद्धार दमक नगरपालिकाले तय गरेको मापदण्ड भित्र रहेर निर्माण गरिएको एकता टोल बिकास संस्थाका अध्यक्ष टेकनाथ तिम्सिनाले बताए ।
कार्यक्रममा दाता परिवारलाई सम्मान गर्दै नगर प्रमुख थापाले समाजमा यस किसिमको योगदानको उच्च प्रशंसा गरे । साथै,उनले त्यस मार्गलाई छिट्टै कालोपत्रे सडक बनाउनेमा विश्वास दिलाए ।
स्वागतद्धारा उद्घाटन कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, वडा सदस्यहरु गोपाल संग्रौला, शोभा बेल्बाँसे, शान्ति टोल बिकास संस्थाका अध्यक्ष पुष्यप्रसाद भट्टराई, साथीभाई समूहका अध्यक्ष गंगाप्रसाद सिटौला लगायतले पनि दाता परिवारले चिरकालसम्म स्मरण गरिरहन सकिने यस किसिमको समाज बिकासमा गरेको योगदान उदाहरणीय भएको चर्चा गरेका थिए ।
सो अवसरमा जग्गादाता परिवार देउमान साम्रा लिम्बु र शुकबहादुर कन्दङवा एकता टोल, शान्ति टोल , बुद्ध टोल लगायत आसपासका सर्वसाधारणहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । एकता टोल बिकास संस्थाका सचिव दिपक बरालले स्वागतसहित कार्यक्रमको औचित्यबारे प्रष्टयाएका थिए भने कार्यक्रम सञ्चालन दिपेन्द्र तिवारीले सञ्चालन गरेका थिए ।