झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

झापा,१८ साउन । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईं बताए ।
झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ । डेङ्गु सङ्क्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्न्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए ।
सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेङ्गु सङ्क्रमित फेला परेका थिए । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारीरोग फोकल पर्सन एवम जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कूल ५४ हजार सात सय ८४ डेङ्गू सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५३ प्रतिशत पुरुष र बाँकी ४७ प्रतिशत महिला छन् ।

आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालय बन्द
आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालयहरु बन्द हुन थालेका छन् ।विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने समस्या देखापरेपछि बिर्तामोड ७ स्थित कंचन इङ्लिस सेकेन्डरी स्कूलले विदा दिएको हो । विद्यालयले आज सूचना प्रकाशित गरी विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखापरेको भन्दै साउन १९ गते एकदिन पठनपाठन नहुने जानकारी गराएको छ । कक्षा नर्सरीदेखि १० सम्म अध्ययन हुने सो विद्यालयमा ५४० जना विद्यार्थी छन् । त्यसमध्ये ४० प्रतिशत विद्यार्थीलाई आँखा पाक्ने समस्या देखिएको विद्यालयका संचालक डिल्लीराम चम्लागाँईले बताए । उनले आफूसहित चारजना शिक्षकलाई पनि सो समस्या देखिएको जानकारी दिए ।

धेरै विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिएपछि बिर्तामोड ६ स्थित सरस्वती एन्जल इङ्लिस स्कुलले पनि विदा दिन लागेको जनाइएको छ । त्यस्तै बिर्तामोड ५ स्थित टावर टेम्पल स्कुलले पनि विदा दिनका लागि अनुमति मागेको बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । उनले स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिन सल्लाह दिएको जानकारी दिए । विद्यालयहरुमा विद्यार्थीहरुको जटिलतालाई हेरेर आइतवार नगरभरिका विद्यालयमा बिदा दिने विषयमा सल्लाह भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारीले जानकारी दिए । झापामा यतिबेला आँखा पाक्ने रोगबाट धेरैजना प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published.