अलैँचीको मूल्य वर्षभरिकै उच्च

झापा,१९ साउन। यसवर्ष किसानले अलैचीको भाउ मनग्यै पाएका छन् । किसानले फलाएको अलैँची शुक्रवार पाँचथरको सदरमुकाम फिदिममा प्रतिमन ६० हजार रुपियाँमा किनबेच भएको छ । त्यही अलैँची झापाको बिर्तामोडमा प्रतिमन ६२ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले जानकारी दिए।

फिदिममा अलैँचीको मूल्य प्रतिमन ६० हजार (प्रतिकिलो १ हजार पाँच सय रुपियाँ ) पुगेको यो वर्ष पहिलो पटक हो । यद्यपि किसान स्वयं भने यो मूल्य पाउन वञ्चित भएका छन् । सिजन सकिएसँगै किसानको अलैँची भण्डार पनि रित्तिएकाले बढेको मूल्यबाट व्यवसायीलाई राहत भएको छ ।
असार महिनासम्म बजारमा अलैँची प्रतिमन ४० हजार रुपियाँमा किनबेच भएको थियो । साउन लागेपछि मूल्य क्रमशः सुधार हुन थालेको व्यवसायीहरू बताउँछन् । एक साता अगाडि यो मूल्य प्रतिमन ५० हजार रुपियाँ थियो ।
पाँचथरको मिक्लाजुङका किसान रामकुमार राईका अनुसार अलैँचीको सिजन सामान्यतया भदौ देखि सुरु भएर मङ्सिर पहिलो सातासम्म हो । किसानले प्रशोधन गरेका अलैँची भदौ देखि माघ महिनाभित्रै बिक्री गरिसक्ने भएकाले बढेको मूल्य सङ्कलक र व्यापारीले मात्रै भेट्ने उहाँ बताउँछन् । ‘यो वर्ष पनि बेसिजनमा मूल्य बढेकाले किसानलाई भन्दा धेरै फाइदा व्यवसायी र सङ्कलकलाई नै भयो ’ राईले सुनाए ।

व्यवसायीहरूका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । व्यवसायी अधिकारीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग श्रेणीमा विभाजन गरिएको छ । शुक्रवार फिदिममा उत्कृष्ट (क) श्रेणीको ६१ ,मध्यम (ख) श्रेणीको ६० र सामान्य (ग) श्रेणीको अलैँची प्रतिमन ५९ हजारमा किनबेच भएको हो ।

यस्तै बिर्तामोडमा क श्रेणीको ६४,ख श्रेणीको ६३ र ग श्रेणीको ६२ हजार रुपियाँ प्रतिमनका दरले किनबेच भएको छ । नेपालमा उत्पादन भएको अलैंंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादन भएको अलैँची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक निर्यात गर्दै आएको छ ।
अलैँची पूर्वी पहाडी जिल्लाका नागरिकको आम्दानीको भरपर्दो स्रोत हो । अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने गरेकाले त्यसको लाभ किसानले लिन नसकेका हुन् । विशेष गरी पूर्वी पहाडका ताप्लेजुङ,पाँचथर,इलाम र सङ्खुवासभाका कृषकको प्रमुख आयस्रोत नै अलैँची हो ।

Leave a Reply

Your email address will not be published.