दमक,११ साउन । कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलित पहिचानवादीहरुले दमकको निर्माणाधिन भ्यूटावरको नाम परिर्वतन गरेको घोषणा गरेका छन् ।आन्दोलनको कार्यक्रम अन्तर्गत आज दमकमा मोटरसाईकल ¥याली गर्नुका साथैं भ्यूटावरको नाम शहीद लाजेहाङ्ग भ्यूटावर नामकरण गरि घोषणा गरेका हुन् ।
प्रदेश १ पूनः नामाङ्गकन संघर्ष समितिले कोशी प्रदेश नामकरण प्रति असन्तुष्ट जनाउदै विभिन्न आन्दोलन गरिआएका छन् । आन्दोलनका क्रममा गत चैत १० गते मोरङ्ग, बेलवारीका पदम लिम्बू (लाजेहाङ्ग ) कोे निधन भएका थियो । लाजेहाङ्गलाई संघीय सरकारले २४ चैतमा शहीद घोषणा गरेका थियो ।
संघर्ष समिति झापाका सचिव शेसेहाङ्ग फियाकका अनुसार आन्दोलनको कार्यक्रम अन्तर्गत दमकमा आज कालोझण्डा राखेर मोटरसाईकल रयाली निकालिएको हो ।
रयालीका क्रममा त्यहाँ संक्षिप्त विरोध सभा गरि उनीहरुले दमक- ४ दापगाछीमा निर्माणाधिन भ्यूटावरसहित दमक -९ मा रहेको दमक सभागृहको नामलाई समेत फाल्गुनन्द सभागृह नामकरण गरिएको घोषणा गरेका थिए । भ्यूटावर प्रवेशद्धारमा लाजेहाङ्ग भ्यूटावर उल्लेख गरिएको बोर्ड राखेका थिए ।
दमककै गौरवको योजनाका रुपमा रहेको यस भ्यूटावर पटक पटक विवाद बन्दैआएको छ । निर्माणाधिन १८ तले भ्यूटावरको काम अन्तिम चरणमा पुगेको छ । यसअघि माओवादी केन्द्र दमकले भ्यूटावरलाई सुविधासम्पन्न मेडिकल कलेज बनाउनु पर्ने माग गरेका थिए ।