दमक, ८साउन । दमकमा जारी प्रदेशस्तरीय अन्तर कलेज फुटसल प्रतियोगिताको दोस्रो दिनको खेलमा छवटा क्याम्पस विजयी भएका छन् ।दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक र दमक बहुमुखी क्याम्पस विजयी भए ।
काँकरभिट्टा बहुमुखी क्याम्पसले सुरुंगाको कनकाई क्याम्पसलाई ७–१ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्यो । त्यस्तै, सुकुना बहुमुखी क्याम्पस मोरङले महेन्द्ररत्न क्याम्पस इलामलाई ४–३ गोल अन्तरले हरायो ।
मेची बहुमुखी क्याम्पस भद्रपुरले उर्लाबारी बहुमुखी क्याम्पसमाथि ७–३ गोल अन्तरको फराकिलो जित दर्ता गर्यो । महेन्द्र बहुमुखी क्याम्पस धरानले बिर्तामोडको कनकाई आदर्श क्याम्पसलाई ३–१ गोल अन्तरले हरायो ।
त्यस्तै, मोडल क्याम्पस दमकले बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसलाई ५–२ गोल अन्तरले हराउँदै अघिल्लो् चरणमा स्थान पक्का गर्यो । आजको अन्तिम खेलमा दमक बहुमुखी क्याम्पस बि टिमले छिमेकी क्याम्पस श्रीयन्त्र कलेज दमकलाई ३–२ गोल अन्तरले हरायो ।
आयोजक युनियन सभापति सोविन न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको फाइनल खेल साउन १० गते हुनेछ ।
विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।