झापा , ८ साउन । झापाको झापा गाउँपालिकामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।मृत्यु हुने झापा गाउँपालिका–१ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सिमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अन्दाजी १२ बजे बालक खेल्नेक्रममा पानीमा डुबेका थिए । उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो । बिर्तासिटी पुर्याइएका उनलाई अस्पतालले मृत घोषित गरेको हो ।
बिर्तामोडमा एक नाबालकको रहस्यमय मृत्यु
बिर्तामोड नगरपालिका–७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ ।थप अनुसन्धानका लागि प्रहरीले पोस्टमार्टमका लागि नाबालकको शव धरान घोपा पठाएको छ । बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार नाबालक रवि मियाका छोरा हुन् । नाबालकका बुबा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ । दश दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले जानकारी दिए । आमा सम्पर्क विहीन भएपछि बुबासँगै बस्दै आएका नाबालकको आज राति निधन भएको हो । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाटीमा धेरै कमिला देखिएको बताइएको छ ।