झापा, ७ साउन । प्रेस सेन्टर नेपाल झापाले देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार भद्रपुरका पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ ।बिर्तामोडमा आज स्व.आचार्यको २०औं स्मृतिको दिवसको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मन्त्री राजेन्द्र कार्की र डी.कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई नगदसहित पुरस्कृत गरेका हुन् । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार अधिकारी नौलो आवाज साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् । पुरस्कृत अधिकारीलाई नगद २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा देवकुमार आचार्यको चर्चा प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेले गरेका थिए भने पुरस्कृत पत्रकार अधिकारीको चर्चा सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मीले गरेका थिए ।कार्यक्रममा मन्त्री कार्कीसहितका अतिथिहरुले मुलुकमा भएको हरेक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश उपााध्यक्ष मणिकुमार साम्पाङ, प्रेस सेन्टर नेपालका उपााध्यक्ष तथा पत्रकार महासंघ कोशी प्रदेश महासचिव विवेक गौतम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, स्व आचार्यकी छोरी तृष्णा आचार्य, नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, अग्रज पत्रकार सुब्रत न्यौपाने, पूर्व पुरस्कृत व्यक्तित्व दिपिन राई, फोनिज झापा अध्यक्ष भूमिका सुब्बा, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, नारी सञ्चार गृहकी सहसचिव जोश्ना श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको कोष स्थापनार्थ पत्रकार सुब्रत न्यौपानेले एघार हजार रुपैँया प्रदान गर्ने घोषणा गरे ।
जनपक्षीय पत्रकार डी.कौडिण्यलाई ४० वर्षको उमेरमा आस्थाका आधारमा २०५९ साल साउन ७ गते झापाको चारआलीस्थित नेपाली सेनाको ब्यारेकमा हत्या गरिएको थियो ।