चुलाचुली,५ साउन । नेपाल तरुण दलले इलामको चुलाचुली गाउँपालिकालाई आफना भौगोलिक सीमासहित विकास निर्माणका विभिन्न विषयहरु समेटेर ज्ञापनपत्र बुझाएको छ ।तरुणदल चुलाचुली वडा न. ४ समितिका सभापति सन्दिप साङसोङ राईले १८ बुँदे ज्ञापनपत्र बुझाउदै आफूहरुले उठाएका संस्थागत यी सबै मागहरु दुई महिना भित्र सार्वजनिक गर्न अल्टिमेटम दिएको हो ।
ज्ञापनपत्रमा चुलाचुलीको भौगोलिक सीमा निर्धारण गरिनुपर्ने, राष्ट्रपति चुरे संरक्षण अन्तर्गतको चुलाचुलीको विधुवा खोला तटबन्धनमा आएको ३० लाख रुपैया जनप्रतिनिधिहरुकै सिफारिसमा अन्यत्र पालिका पठाएकोमा छानवीन हुनुपर्ने,चुलाचुली २ स्थित निर्माणाधिन तिनकुने पर्यटकीय स्थलको आयव्यय सार्वजनिक गरिनुपर्ने,चुलाचुली ५ मा निर्माण थालिएको खेलमैदान,चुलाचुली २ र ४ को खानेपानीको हिसावकिताव सार्वजनिक गरिनुपर्ने, चुलाचुलीका १ देखि ६ सम्मका सवै वडा कार्यालयको भवन निर्माण सकिएको केहिबर्षमै चुहिने,भत्किन थालेकोमा आफनो गंभीर ध्यानाकर्षण भएको भन्दै त्यसप्रति अविलम्ब छानवीन समिति गठन गर्न माग गरिएको उल्लेख छ ।
यस्तै, यसअघिका जनप्रतिनिधिले तयार गरेका प्रशासकीय भवन भवनसंहिता अनुसार बालमैत्री,अपांगमैत्री तथा ज्येष्ठ नागरिकहरु मैत्री पूरा नभएकाले यसको छानवीन गरिनुपर्ने, अघिल्लो जनप्रतिनिधिले कृषि तथा वडा मार्फत कृषिका अनुदान, कार्यक्रमहरुको विवरण बाहिर ल्याउनुपर्ने, चुलाचुली ३ वडा कार्यालयले विद्युतीकरणका लागि वडावासीसंग प्रतिपरिवार १ हजार दरले उठाएको रकम वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन् ।
यसैगरि, जनप्रतिनिधिहरुले सवारी मर्मतको खर्च ,प्रशासकीय भवनमा निर्माण गरिएको सभाहलको विषयमा जानकारी गराउनु पर्ने ,चुलाचुली ४ यलम्बर चौकमार्ग सडकको हिसावकिताव सार्वजनिक गरिनुपर्ने माग राखिएको उल्लेख छ ।