दमक,२ साउन ।झापाको दमक नगरपालिका वडा न. ७ सुनचाँदी लाइनमा निर्माण गरिने भनिएको ‘दमक सपिङ्ग कम्प्लेस’ निर्माणको काम शुरुनै नभई रु २ करोड रुपैया निर्माण कम्पन्नीले पेश्की स्वरुप लिएको खुल्न आएको छ ।
रु ४३ करोडभन्दा बढिको लागतमा दमक नगरपालिकाले बनाउन लागेको सपिङ्ग कम्प्लेस शिलान्यासनै नभई निर्माणको जिम्मा पाएको कम्पन्नीले ‘मोबिलाइजेशन’ वापत करिब रु २ करोड रुपिया लगिसकेको खुलेको हो ।
नगर विकास कोष र दमक नगरपालिकाबीच ऋण सम्झौता बमोजिम दमक नगरपालिकाले आवश्यक प्रक्रिया पुगेपछि गत पुस २५ गते सपिङ्ग कम्प्लेस निर्माणका लागि नव सिर्जनशिल÷बंगालमुखी जेभी काठमाण्डौबीच सम्झौता गरे लगत्तै रु १ करोड ९० लाख ४ हजार ४१० रुपिया मोबिलाइजेशन पेश्की भनेर लिएको खुलेको छ । निर्माण कम्पन्नीले पेश्की रकम लिएपनि काम शुरु गर्ने छनक महिनौ वितिसक्दा समेत देखाएका छैनन् ।
दमक वजारको सुनचाँदी लाइनमा निर्माण हुने दमक सपिङ्ग कम्प्लेक्स निर्माणको लागि बोलपत्र मूल्यांकनमा सिफारिस भई स्वीकृत भएको भएपनि काम शुरु नभएको नगरपालिकाका लेखा समितिले औल्याएपछि सो विषय बाहिरिएको हो ।
नगरपालिकाको हालै सम्पन्न १३ औ नगर सभा सभामा लेखा संयोजक गोपालकृष्ण संग्रौलाले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त विषय उल्लेखनै गरि काम नै शुरु नभइ यति ठुलो रकम निकासा भएको भन्दै निर्माण ब्यवसायीलाई छिटो काम गर्न लगाउनु पर्ने सुझाव दिएको उल्लेख छ । सो सुझाव लिखीत रुपमा आएपछि काम शुरु नै नभएको अवस्थामा ऋणको ठुलो रकम निर्माण ब्यवसायीलाई दिएको भन्दै नगर सभा सदस्यहरुले आपत्ति जनाएका थिए ।
दमक ६ का वडा सदस्य कमल श्रेष्ठले काम नै नभई झण्डै रु २ करोड रुपिया रकम लिएर काम गराउन चासो नदिनु नगरपालिकाको नियत माथि शंका भएको उल्लेख गरे । पेश्की रकम लिएर ७ महिनासम्म कामनै शुरुवात नगर्दा नगरपालिकालाई रु ५ लाखभन्दा बढि ब्याजको ब्यभार थपिएको उनले बताए । उनले भने , –‘ आधा वर्ष वितिसक्यो, काम शुरुवात गर्ने छनक छैन । अविलम्ब संझौता अनुसार काम अघि बढाउन पहल गर्नुपर्छ । ’
दमक नगरपालिकाको सार्वजनिक जग्गामा रहेका सुकुम्बासीहरुलाई हटाएर त्यहाँ सपिङ्ग कम्प्लेस निर्माण गर्ने महत्वकाक्षी योजना नगरपालिकाले एक दशक अघि नै अघिसारेको थियो । नगरपालिकाले पछिल्लो समयमा त्यहाँ लामो समयदेखि बस्दैआएका सुकुम्बासीको ब्यवस्थापन गरिसकेको छ ।