पूर्वमा अझै तीनदिन वर्षा बढी हुने

झापा,२८ असार। आगामी तीन दिन देशको पूर्वी भेगमा बढी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यूनचापीय प्रणाली दक्षिण–पूर्व तथा उत्तरको नेपालतर्फ केन्द्रित भएको छ।

त्यसकारण पूर्वी भूभागसँगै बागमती, गण्डकीको पोखरा क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । अन्य क्षेत्रमा घाम लाग्दै फाट्टफुट्ट वर्षा हुने सम्भावना छ।नेपालको वायुमण्डलमा जलवाष्पयुक्त वायुभन्दा सुक्खा वायुसहितको बादल मात्र घुमिरहेकाले सरदरभन्दा वर्षा कम हुनेतिर लक्षित रहेको मानन्धरले बताइन्।

भारतको उत्तर प्रदेशमा भने नेपालको तुलनामा बढी वर्षा भइरहेको छ। खण्डित रूपमा त्यहाँ भारी वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढेको छ।त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित रहन दिल्लीस्थित दूतावासले अनुरोध गरेको छ। कुनै पनि प्राकृतिक विपत्ति आएमा दूतावासको सम्पर्कमा रहन भनिएको छ।

विभागका अनुसार २८ गते देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published.