शपथ खाएर गौरीगन्ज मन्दिर पुगे मुख्यमन्त्री थापा

गौरीगञ्ज,२३ असार। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रवार बेलुका झापाको गौरीगन्जस्थित पुरानो वैजेश्वरनाथ कोटेश्वर शिवालय मन्दिरमा पुगेका छन् । पूर्वी नेपालकै सबैभन्दा पुरानो मठमन्दिरहरू मध्येमा पर्ने यो मन्दिरमा पुगेर उनले पूजा अर्चना गरेका हुन् ।
उनले उक्त मन्दिरमा रहनु भएकी धार्मिक अभियन्ता पहिलो महिला जगद्गुरु शङ्कराचार्य भएको दाबी गर्ने साध्वी हेमा गिरीसँग आर्शिवाद लिदै यस मन्दिर र यस क्षेत्रको विकासमा आफू लाग्ने प्रतिबद्धता जनाएका थिए । वैजेश्वरनाथ धामको समृद्धि र विकासको लागि काम गर्ने मेरो सोच यसभन्दा अघि पनि रहेको उल्लेख गदैं उनले आज भने संयोग मिलेको बताए ।

यस धामको विकाससँगै गौरीगन्जको विकासमा नै आफ्नो ध्यान जाने बताउँदै आफूले मुख्यमन्त्रीमा शपथ लिएर दिनभर अन्न पनि नखाई यहाँ आइपुगेको सुनाए । उनलाई मन्दिरमा गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी सहितका जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।

सो अवसरमा मन्दिरकी साध्वी गिरीले आर्शिवाद् दिदै यस मठको विकासमा मुख्यमन्त्री थापाले चासो दिएको र महत्त्व दिएर आएको प्रति आभार प्रकट गरिन् । उनले यो पुरानो र ऐतिहासिक वैजेश्वरनाथ धामको विकासले गौरीगन्ज क्षेत्रको विशिष्ट पहिचान बन्ने बताईन् ।
यसअघि उनले कमल गाउँपालिका ५ मंगलवारेमा बस्दैआएका नेपाली काँग्रेसका पुराना योद्धा पूर्णानन्द शर्मालाई पनि भेट गरेका थिए। कांग्रेस झापाका पूर्व सभापति समेत रहेका वयोवृद्ध शर्माको घरैमा पुगेर मुख्यमन्त्री थापाले आर्शिवादसहित भलाकुसारी गरेका थिए । शर्माले प्रजातान्त्रिक आन्दोलनको भोगाइलाई उल्लेख गरेर ‘त्यागको परिणाम’ नामको पुस्तक निकालेका छन् ।
पार्टी कार्यालयमा स्वागत गरिदै
मुख्यमन्त्री थापाको सम्मानमा आज दिउँसो कांग्रेस जिल्ला पार्टी कार्यालयमा स्वागत तथा सम्मान गरिदै छ । विहान ११ वजे हुने सम्मान कार्यक्रममा जिल्ला भरिका पार्टी कार्यकर्ताहरुको उपस्थिति रहने जिल्ला सचिव कृष्ण हुमागाईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.