कविता : ढुङ्गा

-आईन्द्र केरुङ्ग
विभिन्न आकृती दिईएर ,
देवता बनाई पुजिन्छ मन्दिरमा
कहिले प्रजातन्त्रको पक्षमा
राणाहरुको बिरुद्वमा
अनि लोकतन्त्रको पक्षमा
त्यहि ढुङ्गालाई प्रयोग गरिन्छ,
ढुङ्गा
मान्छेहरुको स्वतन्त्रताको पक्षमा
सधै प्रयोग भइरहनु पर्ने
निस्वार्थ सहयोग गरिरहनु पर्ने
गणतन्त्रको पक्षमा ,
जनताहरुको पक्षबाट लडनु पर्ने
त्यही भएर त अजर छ
अमर छ
ढुङ्गा ,
हिजो आज सुन्दै छु
पहिचानको पक्षमा त्यही ढुङ्गा छ
कोहि कसैले ढुङ्गालाई
सराप्न सम्म सराप्दै छन
घोक्रो फुलाउदै
टोपी मिलाउदै
माइक समाउदै
भन्दै छन ! यो ढुङ्गा
हाम्रा लागि अभिसाप भयो
हाम्रो बिरुद्वमा लाग्दैछ
हाम्रा टाउका ताक्दै छन
हाम्रा पछि लाग्दै छन
ढुङ्गा,
सरापेका छन,
गाली गरेका छन
धारे हात लगाएका छन
दुख त ढुङ्गालाई हुनु पर्ने हो
ढुङ्गा ,
मस्तले,
ढुक्कले
मुस्कुराइ मुस्कुराई
थातथलो छोडेको छैन
आफ्नो धर्म छोडेको छैन
आफ्नो अडान छोडेको छैन्।।
मात्र एउटै डर छ
पुराना वकिल
आफ्नो बिरुद्वमा छ
मुद्वा लगाउछ कि भनेर
आजकल अलि हच्केको रहेछ
ढुङ्गा,
दमक- १, झापा

Leave a Reply

Your email address will not be published.