गौरादहका सुनचाँदी व्यवसायी विक २४ करोड बढी ठगेर फरार

गौरादह,२२ असार । झापाको गौरादह–१ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा २४ करोडभन्दा बढी रकम ठगेर फरार भएका छन् ।गौरादह–२ मा व्यवसाय गर्ने विश्वकर्मा दुई दशकदेखि गौरादह बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका उनी गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको नाममा पत्र लेखेर उनी एक सातादेखि फरार भएका हुन् । बिहीबारसम्ममा उनीबाट ठगिएका ४३७ जनाले करिब २४ करोडभन्दा बढी ठगेको दाबी गरेर वडा कार्यालयमा निवेदन दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । ‘हस्ताक्षर विनाको एउटा पत्र मेरो नाममा लेखेर मलाई म्यासेन्जरमा पठाइदिएका छन् । त्यसपछि उनी सम्पर्कमा छैनन् । ती व्यक्तिले पत्रमा मैले मेरो परिवार र सबै जायजेथा छाडेर हिँडेको छु ।वाणिज्य सङ्घसँग बसेर वडाध्यक्षले हिसाब मिलाइदिनू भनेर लेखेका छन् । तर, उनको हस्ताक्षर छैन’ वडाध्यक्ष भण्डारीले भने, ‘सुरुमा त थोरै होला भन्ने ठानेका थियौँ । अहिलेसम्म २४ करोड हाराहारीको दाबीसहित निवेदन परेको छ । एउटै व्यक्तिबाट ५० हजारदेखि ४० लाखसम्म ठगिएको पाइयो ।’

विश्वकर्माले कोरोनाका कारण लकडाउन हुँदा र अहिलेको आर्थिक सङ्कटका कारण व्यवसाय गर्नै नसक्ने गरी डुबेको वडाध्यक्ष भण्डारीलाई लेखेको पत्रमा उल्लेख छ । उनले धेरै साहुलाई साँवाभन्दा ब्याज बढी तिरेको उक्त पत्रमा लेखेका छन् । १४ असारदेखि विश्वकर्मा परिवारको समेत सम्पर्कमा नरहेको वडाध्यक्ष भण्डारीले बताए । विश्वकर्माले महँगो ब्याजको लोभ देखाउँदै स्थानीयसँग ऋण लिएका थिए । लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका हुन् । ‘कतिपयको सापटी लिएका रहेछन् । कतिपयलाई सहकारी र बैङ्कको भन्दा राम्रो ब्याज दिन्छु भनेर पैसा लिएको हुनसक्छ’ वडाध्यक्ष भण्डारीले भने, ‘अहिले वडामा निवेदनको चाङ छ । हामीलाई यो विषयले अनावश्यक तनाव दिएको छ ।’ उक्त पत्र लेखेर फरार भएपछि प्रहरीलाई विश्वकर्माको खोजी गर्न वडाले पत्र लेखेको उनले बताए । ‘हामीले वडामा निवेदन पनि लिइरहेका छौँ र प्रहरीलाई पनि निवेदन दिएका छौँ । प्रहरीले उनको खोजी गरिरहेको छ’ भण्डारीले भने, ‘प्रशासनलाई हामीले उनी बाहिर जान नपाउन् भनेर निगरानी गर्न आग्रह पनि गरेका छौँ ।’

पीडितले दिएको निवेदनका आधारमा गौरादह नगरपालिकाको न्यायिक समितिले पनि प्रक्रिया अघि बढाउने भएको छ । न्यायिक समितिका संयोजक तथा उपप्रमुख जलवर्षा राजवंशीले यसबारेमा सर्वदलीय बैठक पनि बसेको र शुक्रबार न्यायिक समितिको बैठक बसेर प्रक्रिया अघि बढाउने बताइन् । जिल्ला प्रशासन कार्यालय झापाले फरार रहेका सोमराजको खोजी भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यो घटनाका बारेमा प्रशासन जानकार रहेको र हराइरहेका विश्वकर्माको खोजी भइरहेको जानकारी दिए । ‘हामीले यो विषयमा छलफल पनि गरेका छौँ । हराएका विश्वकर्माको खोजी भइरहेको छ’ उनले भने, ‘न्यायिक समितिलाई विश्वकर्माको नाममा रहेको सम्पत्ति तत्काल रोक्का गर्न प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published.