दमक,२० असार । दमक नगरपालिकाको १३ औं नगर सभामा प्रस्ताव गरिएको नीति कार्यक्रम तथा बजेट संशोधनसहित पारित भएको छ ।नगर सभाको आज बसेको दोश्रो बैठकमा उपप्रमुख रेगिना भट्टराईले १० असारमा प्रस्तुत गरेको नीति कार्यक्रम स्वीकृतार्थ पेश गरेकी थिइन । सो कार्यक्रम पारित गरियोस भनि बैठकमा राखेको प्रस्ताव नगर सभा अध्यक्ष तथा नगर प्रमुख रामकुमार थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
त्यसैगरी उपप्रमुख भट्टराईले पेश गरेको दमक नगरपालिकाको विनियोजन विधेयक २०८०, राजश्व संकलन तथा परिचालन गर्न बनेको विधेयक २०८० र दमक नगरपालिकाको आर्थिक विधेयक २०८० स्वीकृतार्थ पेश गरेकी थिइन । पेश गरिएका सबै विधेयक नगर सभामा नगर प्रमुख थापाले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको घोषणा गरिएको थियो ।
सो सभाको बैठकमा न्यायिक समिति संयोजक उपप्रमुख भट्टराईले न्यायिक समितिको प्रतिवेदन पेश गर्दै चालू आर्थिक बर्षको शुरुदेखि अहिले सम्म २४४ वटा विभिन्न किसिमका विवाद सम्बन्धि निवेदन दर्ता भएका उल्लेख गरेकी छन् । उनले अधिकांश मुद्धाहरु लेनदेन, अंशवण्डा, झैझगडा सम्बन्धिका भएको र ४० वटा विवादित बिषयहरुको स्थलगत रुपमै पुगेर विवाद निरुपण गरिएको पनि जनाइन् । न्यायिक समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दमकका १० वटै वडामा १३६ जना मेलमिलापकर्ताहरु परिचालित रहेका छन् ।
सभामा पूर्वाधार बिकास समितिका संयोजक भिमप्रसाद पौडेल, सामाजिक विकास समितिका तर्फबाट सदस्य कुबेर भट्टराई, सुशासन तथा स्थानीय सेवा समितिका संयोजक नविन बराल ,विद्यायन समितिका संयोजक राजेन्द्र भण्डारी र वातावरण समितिका संयोजक टेकबहादुर थापाले शाखागत प्रतिवेदनहरु पेश गरेका थिए । सभाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत रु १ अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपैयाको वजेटसहित विषयगत सबै प्रतिवेदनहरु समेत पारित भएका छन् ।