कन्काई ६ को वडा कार्यालय भवन प्रयोगविहीन

कनकाई , २० असार । झापाको कनकाई नगरपालिका–६ का लागि बनाइएको भवन प्रयोग नहुँदा अलपत्र बनेको छ । गत वर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको छ ।
स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको दुई कट्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन। कार्यालय प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको छ भने शौचालयमा राखिएको पानी ट्याङ्की हावाले उडाएको छ । आफ्नै भवनमा कार्यालय राख्न नपाएपछि वडा कार्यालय भने स्वास्थ्यको भवनमा राखिएको छ ।
नयाँ कार्यालय भवन साँघुरो र अपायक भएकाले वडा कार्यालय सार्न नसकिएको वडाध्यक्ष दीर्घबहादुर थापाले बताए । उनले भने , “असुविधा, साँघुरो, कर्मचारी राम्ररी बस्ने ठाउँ नभएको सानो वडा कार्यालय बनेका कारण सुरक्षाको दृष्टिकोणले पनि एकान्त, भुइँतला र टिनको छानो मात्र भएकाले अहिले त्यहाँ सर्न सकिएको छैन।” कार्यालय भवन एकान्तमा टिनको छानो भएको र सुरक्षाका दृष्टिकोणले असुरक्षित भएकाले वडा कार्यालय तत्काल सार्न नसकिएको थापाको भनाइ छ ।
भवन इलामको सूर्योदय नगरपालिका–८ मा कार्यालय रहेको सिद्धिथुम्का निर्माण सेवा प्रालिले निर्माण गरेको हो। नगरपालिकाले सूर्योदय निर्माण सेवालाई उक्त भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ९८ हजार ९३० रुपियाँ ६५ पैसा उपलब्ध गराएको थियो। शौचालयबाहेक आठ वटा पिल्लर राखेर ४० फिट लम्बाइ र २२ फिट चौडाइको उक्त भवनको छानामा भने टिन लगाइएको छ । कार्यालयभित्र आल्मुनियमले पार्टिसन गरिएको छ। संरचना निर्माणको हिसाबले लागत मूल्य अत्यधिक महँगो भएको स्थानीयवासीको गुनासो छ । एक स्थानीयवासीले भने, “त्यत्रो पैसाले त त्यति सानो भवनको पक्की छत नै बनाउन सकिन्छ ।” लागत अनुमान बढी गरेर कम मूल्यमा संरचना निर्माण गरिएको र अनियमितता भएको उनको दावी छ ।
यता उक्त भवन ३२ लाख रुपियाँमा बनेको सुनेपछि स्थानीयवासीले भ्रष्टाचारको आशङ्का गरेका छन्।

Leave a Reply

Your email address will not be published.