गौरादह, १८ असार । नेपाली कांग्रेसका पूर्व सभापति तथा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०० औं जन्म जयन्तीको अवसर पारेर आज गौरादहका अति विपन्न परिवारलाई झुल वितरण गरिएको छ ।
कांग्रेस नगर समिति गौरादहको आयोजना तथा युवा नेता समेत रहेका जिल्ला सदस्य ईस्वर खत्रीको संयोजनमा वडा नं २ स्थित डिड्ठा चोक दक्षिण सुकुम्बासी टोलका लक्षित २२ परिवारलाई झुल वितरण गरिएको हो । ती झुलहरु पार्टीका स्थानीय नेतृत्वहरुले वितरण गरेका थिए ।
झुल वितरणका क्रममा नेताहरुले गिरिजा बाबुको स्मरण गर्दै देशमा गणतन्त्र प्राप्तिका लागि उनको योगदान अतुलनीय भएको औल्याएका थिए । झुल बितरण पूर्व उनको तस्वीरमा श्रद्धा सुमन अर्पण गरिएको थियो भने कार्यक्रमको समापन पछि उनको सम्झनामा बिपी अध्ययन प्रतिष्ठानको कार्यालयमा आएर पुष्प गुच्छासहित माल्यार्पण समेत गरिएको प्रतिष्ठानका अध्यक्ष कोमल ढुंगानाले बताए।
उनका अनुसार पार्टीको बार्षिक क्यालेण्डर अनुसार आज स्व. कोइरालाको जन्मजयन्ती मनाईएको हो । कांग्रेस गौरादहले नयाँ वर्षमा निकालेको गतिविधिमूलक भित्ते पात्रोमा ३४ वटा कार्यक्रम मध्ये ९ वटा कार्यक्रमहरु गरिएका छन् ।
सो अवसरमा गौरादह नगरपालिकाका पूर्व प्रमुख तथा कांग्रेस महाधिवेशन प्रतिनिधि रोहित कुमार शाह , महाधिवेशन प्रतिनिधिहरु लक्ष्मी बाह्कोटी, हेमन्त कार्की, नेतृ भिममाया उप्रेती , प्रदेश प्रतिनिधि लक्ष्मी चिमरिया , प्रदेश (क) सचिव राजु घिमिरे , कांग्रेस संगठन बिभाग प्रमुख तथा शिक्षक बाबुराम भण्डारी , वडा सभापति इन्द्र गौतम , क्षेत्रीय सदस्य निर्मला रिमाल , सामाजिक अभियन्ता डाक्टर मनिशा खत्री लगायतको समेत उपस्थिति रहेको थियो ।