झापा,१८ असार । हात्तीको आक्रमणमा परेर झापाको मेचीनगरमा आज सोमबार बिहान एक जना वृद्धाको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए । उनका अनुसार पूजा गर्न फूल टिप्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको हो। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्।
त्यस्तै, हात्तीको आक्रमणबाट बुद्वशान्ति गाउँपालिका– ५ धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भएकी छन् । उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको छ ।
साहलाई आक्रमण गरेपछि हात्ती आक्रामक भइ उत्तरतिर लागेको र सोही क्रममा चिया श्रमिक धिमालमाथि जाइलागेको प्रहरीले जनााएको छ। बिहान ६बजेतिर बुद्धशान्ति– ५ धिमाल गाउँ बस्ने धिमाललाई मेचीनगर– ९ बस्ने हेमन्त प्रसाईको बुद्धशान्ति -५ स्थित चिया बगानमा काम गर्न जाने क्रममा बाटोमा जंगली हात्तीले सुडले हानी घाईते बनाएको हो । घाइतेको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापामा ६ दिनअघि मात्र हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले कुल्चेर मारेको थियो।चालु आर्थिक वर्ष २०७९-८० मा हालसम्म एक गैरनेपालीसहित आठ जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।