दमक,१५ असार ।२० औ राष्ट्रिय धान दिवसको अवसर पारेर आज दमकसहित बिभिन्न ठाउँमा सामूहिक धान रोपाइँ गरि मनाईएका छन् । राजनीतिक दल र सम्बद्ध किसान संघ संगठनहरुको आयोजनामा भएका धान रोपाइँ कार्यक्रममा राजनीतिक दलका नेता, कार्यकर्ताहरु सहभागी भएर रोपाई गरिएका हुन् । किसानलाई उर्जा भर्ने काम गर्नका लागि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिदैआएका छन् भने अर्कातिर खाट्टी किसानहरु भने राजनीतिक नेतृत्वले किसानमैत्री नीति कार्यक्रमहरु नल्याउँदा आफूहरु सधैं मर्कामा परेको गुनासो गर्ने गरेका छन् ।
हिजोदेखि फाट्टफुट्ट भइरहेको बर्षाले किसानलाई राहत दिएको छ । धेरै जसो खेतमा पानी जमेकाले किसानहरुलाई यसपटक समयमै धान रोपाइँ गर्न सहज भएको छ । हिल्याइएका खेतहरुमा रोपाहार र बाउसेहरु आआफनो काममा व्यस्त छन् । ब्याडे र हलो जोत्ने ट्रयाक्टर चालकलाई पनि भ्याइ नभ्याई छ ।
नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान संघको आयोजनामा दमकको वडा नं ४ मा आयोजना गरिएको सामूहिक धान रोपाइँ कार्यक्रममा कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवेको प्रमुख आतिथ्य रहेको छ । थेवेले रोपाइँ कार्यक्रमको औपचारिक उदघाटन गर्दै आफनो पारिवारिक घटनाका कारण धेरै समय दिन नसक्ने भन्दै शुभकामनाका शब्दहरु राखेर विदा भएपछि त्यहाँँ सामूहिक रोपाइँ शुरु भएको छ ।
नेता थेवेका दुई जना आफन्तको केही दिन अघि ताप्लेजुङमा पहिरोले पुरिएर निधन भएको थियो । सो कार्यक्रम नेपाल किसान महासंघ कोशी प्रदेश समिति अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस नेता सुरेश सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश समिति सदस्य चन्द्रा खडका भट्टराई, महाधिवेशन प्रतिनिधि राजन ढुंगाना , मेदनीप्रसाद सिटौला, अइन्द्र केरुङ, प्रदेश सभा क्षेत्र (ख) का सभापति रवि केसी , दमक नगर सभापति प्रकाश प्रसाइँ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दमक नगर समितिले पनि दमकको २ नम्बर वडामा पर्ने डाकिनीमा सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ । त्यस्तै, दमक २ कै प्रतिफल कृषि सहकारी संस्थाले पनि सामूहिक रोपाई कार्यक्रम गरेको छ । नगरप्रमुख रामकुमार थापाकाृ प्रमुख आतिथ्यतामा धान रोपाई गरिएको हो । संस्थाले सञ्चालन गरिआएको एक विगाहा बढी जमिनमा रोपाई गरिएको बताइएको छ ।
यसैगरि, आजनै कमल १ नरेन्द्र जनता माध्यमिक विद्यालयले पनि विद्यार्थीसहित अभिभावक,शिक्षकहरुको उपस्थितिमा रोपाई कार्यक्रम गरिएको प्रधानाध्यापक बद्री कार्कीले बताए ।
दमक २ स्थित प्रतिफल सहकारीको धान रोपाई कार्यक्रममा मेयर थापा
कमल १ स्थित नरेन्द्र जनता माविले आयोजना गरेको धान रोपाईमा विद्यार्थी,शिक्षक तथा अभिभावकहरु