झापा, १५ असार । असार पन्ध्रसम्म झापामा २० प्रतिशत रोपाइँ भएको छ ।असार पन्ध्रमा दही च्यूरा खाएर रोपाइँ शुरु गर्ने चलन रहेपनि झापाका किसानहरुले असार २ गते नै रोपाइँ शुरु गरेका थिए । नियमित वर्षा भइरहेकाले अहिले रोपाइँका लागि उपयुक्त रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।
यसैबीच २०औँ धान दिवसका अवसरमा आज झापाका विभिन्न स्थानमा सामूहिक रोपाइँ गरिदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मेचीनगरको दुवागढीमा कार्यक्रम आयोजना गरेको छ भने महारानीझोडा साना किसान सहकारी संस्थाले गौरादहमा , भद्रपुर नगरपालिकाले पृथ्वीनगरमा धान दिवसको कार्यक्रम राखेका छन् ।
२०औँ धान दिवस मनाईदै
आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। नेपालमा विविध कार्यक्रमका साथ औपचारिक रुपमा २०औँ धान दिवस मनाइँदै छ।विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।
धान दिवसको अवसरमा झापामा विशेष रोपाइँ महोत्सव गर्ने गरिएको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो। कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ।
कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ।तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ।