दमकका २ सय बिपन्न परिवारलाई झुल वितरण

दमक ,१३ असार । दमक नगर उप प्रमुख रेगिना भट्टराईको पहलमा दमकका बिपन्न २ सय परिवारलाई झुल वितरण गरिएको छ । दमक वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका दुई सय परिवारलाई स्थानीय टोलमै पुगेर झुल वितरण गरिएको हो । लायन्स क्लब अफ काठमाण्डौ मिनभवनको प्रायोजनमा १ सय र नगर उपप्रमुख भट्टराईको तर्फबाट थप १ सय झुलहरु वितरण गरिएको हो ।
केहिदिन अघि दमक ५ को सुकुम्बासी परिवारमा एक बाललको मेनिनजाईटिसबाट मृत्यु भएको खबर सुनेर आउँदा झुल समेत किन्न नसकेर यत्तिकै सुत्ने गरेकाले मच्छडले टोकेर रोग लागेको पाएपछि आफुले पहल गरेको उप प्रमुख भट्टराईले बताईन् । कतिपयको लागी झुल खरिद गर्नु समान्य कुरा भए पनि बिपन्न समुदायले झुल किन्न नसक्दा रोग लागेर ज्यानै समेत गुमाउन बाध्य हुनु पर्ने अवस्था रहेको भन्दै उनले यसको अन्त्यका लागी सानो सहयोग गरिएको उल्लेख गरिन् ।
मंगलवार झुल वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौ मिनभवनका अध्यक्ष नरेश खड्काले यो सहयोग भन्दा पनि आफुहरुको मायाँको चिनो भएको बताए । दमक नगर उप प्रमुख भट्टराईको पहलमा आफुहरु यहाँ सम्म आएर मायाँको चिनो बाँड्न पाएकोमा उनले खुसी लागेको बताए ।
दमक ५ मा भएको कार्यक्रममा दमक ४ का वडा अध्यक्ष पुण्यप्रसाद दाहाल सहित स्थानीय सामाजिक अगुवाहरु चैतन्य बराल, रुद्र गौतम, एकराज लुईटेल लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.