बाढी पहिरोका १ सय ४९ घटना , २१ जनाको मृत्यु

झापा,९ असार । बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटनामा परेर २१ जनाको ज्यान गएको छ भने अझै २६ जना बेपत्ता छन् ।बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बैशाखयता ८२ वटा पहिरो र ६७ वटा बाढीका घटना भएकोमा पहिरोका कारण १४ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन् । त्यस्तै बाढीमा परेर ७ जनाले ज्यान गुमाएका र २१ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ ।

बाढी पहिरोका यी घटनामा ५ सय २१ परिवार प्रभावित भएका छन् । नेपालमा गएको जेठ ३१ गते भित्रिएको मनसुन अहिले देशभर फैलिएको छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा भएको लगातारको वर्षाले सङ्खुवासभा, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो क्षति गरेको छ ।

मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गको आग्रह छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ । साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ । मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी अनुसार काम भैरहेको र विपद् प्रभावितलाई तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काको आग्रह छ ।

मनसुनी प्रणाली फैलिएसँगै देशभर भारी वर्षा

मनसुनी प्रणाली देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशभर फैलिएको हो ।यस वर्ष कोशी, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट मनसुनी प्रणाली प्रवेश गरेको थियो । कोशी, बागमती, मधेश, गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

अन्य प्रदेशका केही स्थानहरुमा पनि मेघ(गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । यस्तै कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पनि भारी वर्षा मापन भएको छ ।

मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.